विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु पर्छ : प्रम दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सवै मिलेर लाग्नु पर्ने बताउनु भएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठकमा सम्वोधन गर्दै प्रचण्डले मंसिर ४ को निर्वाचनबाट जनताले दलहरुलाई सशर्त समर्थन दिएको बताउँदै जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ सक्दैनौँ ? भन्ने परीक्षा शुरु भएको पनि बताउनु भएको छ ।
परम्परागत राजनीतिले मात्रै जनतामा जान नसकिने बताउँदै प्रधानमन्त्री दाहालले फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएपनि जनतासँग सुशासनका प्रतिवद्धता साझा भएको बताउनु भएको छ ।
यो पटक नयाँ दलहरु संसदमा आएको र नयाँ सांसदहरुको आवेग जाजय भएको बताउनु भएको छ । अब विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु पर्ने उहाँले बताएका छन् ।
सोमबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको हो । बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । उनले प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका छन् ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा एमाले का ७९, नेकपा माओवादी केन्द्र का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२ जना सांसद छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद छन् ।