जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न सरकारलाई माधव नेपालको सुझाव
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढाउन सरकारलाई सुझाव दिनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा अध्यक्ष नेपालले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता प्रधानमन्त्रील गरेको भन्दै जनताले अनुभूति गर्ने गरि काम गर्न सुझाव दिनुभएको हो ।
नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको धारणा राख्नुभयो । अध्यक्ष नेपालले राजनीतिक अग्रजले देश र जनतालाई सार्वभौम र स्वतन्त्र बनाउन योगदान गरेको उल्लेख गर्दै वर्तमान राजनीतिक नेतृत्वसँग पनि जनताले धेरै अपेक्षा गरेको बताउनुभयो । विगतका अनुभवबाट सबैले पाठ सिक्दै संविधानको रक्षा, राष्ट्रियता र स्वाभिमानको संरक्षण गर्न सबैले गम्भीरताका साथ ध्यान दिनुपर्ने उहाँको भनाइ छ । त्यस्तै उहाले वर्तमान सरकारबाट संविधानको पूर्णपालनाको अपेक्षा गरेको बताउनुभयो ।
उहाँले मुलुकमा भ्रष्टाचार, ढिलासुस्ती, दण्डहीनता, कर्तव्यविमुख प्रवृत्ति मौलाएकाले समस्या समाधानका लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको छ ।