प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मनको सहयोग रहने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गर्नु भएको छ । प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नु भएको हो ।

भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनु भएको छ । प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिक सम्बन्ध रहने बताउँदै यसलाई आफूले ‘प्रो–नेपाल पोलिसी’को नाम दिएको बताउनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार शान्ति प्रक्रियाको पूर्णता, दिगो आर्थिक विकास र सामाजिक सुरक्षा लागू गर्न प्रभावकारी रूपमा लागिपर्ने बताउनु भएको छ।
भेटमा राजदूत प्रिन्सले संसदबाट झण्डै शतप्रतिशत मतका साथ विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्रीलाई बधाइ दिँदै नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको सहयोग पूर्ण रहने बताउनु भएको छ।