नयाँ गाउँका कृषकलाई सुन्तला विक्रिका लागि भ्याई–नभ्याई
गुल्मी जिल्लाको धुर्काेट गाउँपालिका–१ नयाँगाउँ सुन्तलाका लागि प्रसिद्ध मानिन्छ । नयाँगाउँका कृषकहरुलाई अहिले सुन्तला विक्रिका लागि भ्याई–नभ्याई छ । एउटै वडाबाट यस वर्ष दुई करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ । नयाँगाउँ सुन्तला पकेट क्षेत्र समेत हो । नयाँगाउँमा धेरै कृषकहरुको सुन्तला उत्पादन पुख्र्याेली पेशा हो । पछिल्लो समयमा मात्र त्यहाँका कृषकहरुले व्यवसायिक रुपमा सुन्तला उत्पादनमा लागेका हुन् । यहाँका कृषकहरुको जिविकोपार्जन गर्ने माध्यम सुन्तला उत्पादन हो । सुन्तला बेचेरै यहाँका कृषकहरुले परिवार चलाउँदै आएका छन् ।
स्थानीय पिताम्बर कोइराला उमेरले ६५ वर्षको पुग्नुभयो । २०४६ सालबाट सुन्तला खेती सुरु गरेको कोइरालाको भनाई छ । “सुरुमा ४०÷५० वटा मात्र सुन्तलाका बोट थिए । अहिले डेढ सय भन्दा धेरै सुन्तलाका विरुवा छन् ।” कोइरालाले भन्नुभयो,–“सुन्तला विक्रिबाटै वार्षिक दुई लाख आम्दानी हुँदै आएको छ ।”
सुन्तलासँगै कोइरालाले सुन्तला विरुवा पनि उत्पादन गर्दै आउनुभएको छ । पहिले–पहिले विजु विरुवा उत्पादन गरि विक्रि गर्ने कोइराला अहिले तीन चार वर्ष अघि देखि कलमी विरुवा उत्पादन गर्दै आउनुभएको छ । जाली घर बनाउने र त्यसभित्र विरुवा उत्पादन गरेर बेच्ने गरेको उहाँले बताउनुभयो । जाली घर भित्रको विरुवा अलि महङ्गे पनि विक्रि गर्न सकिने कोइरलाको भनाई छ । ४५ रुपियाँ देखि १५० रुपियाँ सम्म विरुवालाई पर्छ । कोइरालाले अहिले कागती २ हजार र सुन्तला १ हजार विरुवा उत्पादन गर्नुभएको छ ।
अर्को कृषक मिनप्रसाद पोखरेल उमेरले ६३ वर्षको हुनुभयो । ०४३ साल देखि उहाँले व्यवसायिक सुन्तलाको उत्पादन गर्दै आउनुभएको छ । सुन्तला विक्रिबाट नै वार्षिक दुई लाख भन्दा माथि आम्दानी हुने गरेको पोखरेलले बताउनुभयो । उहाँको बंगैचामा ४ सय भन्दा बोटले फल दिइरहेका छन् । यस वर्ष पनि दुई लाखमा सुन्तला बंगैचा विक्रि गरेको पोखरेलले बताउनुभयो ।
उहाँले सुन्तला उत्पादक कृषकहरुका लागि सिचांइको अभाव रहेको बताउनुभयो । सरकारले सिचाईको व्यवस्था मिलाईदिनुपर्ने पोखरेलको भनाई छ । उहाँले अनुदान दिने, बगैचा सुधार गर्नेतर्फ कृषकहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय ३७ वर्षीय मिना घिमिरेले पनि सुन्तला विक्रिबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । डेढ सय भन्दा बढि सुन्तला बोटले उत्पादन दिइरहेका छन् ।
उहाँले नयाँगाउँको सुन्तलाको माग बढ्दो रहेको छ । स्थानीय व्यापारीहरुले बगैंचा नै खरिद गरि बुटवलसम्म पठाउने गरेका छन् । व्यवसायी मिनराज पोखरेलले प्रत्येक वर्ष त्यहाँका सुन्तला खरिद गरि बुटवल पठाउँदै आउनुभएको छ । नयाँगाउँको सुन्तला अन्य स्थानको तुलनामा धेरै माग रहेको बताउनुभयो । “स्वादका हिसाबले नयाँगाउँको सुन्तला राम्रो हुने गरेको छ । फिनिसिङ राम्रो र कलरमा राम्रो भएका कारण यहाँको माग बढ्दो रहेको छ ।” गुल्मीको सुन्तला नेपालभरी नै परिचित गराउने उद्वेश्यका साथ काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना एकाई गुल्मीका कार्यालय प्रमुख गंगाकुमारी पोखरेलले बताउनुभयो ।