‘मितिनी’ र ‘सोल्टी’ शुक्रबार बेलुका चीन प्रस्थान

काठमाडौँ – ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैँडाका एक जोडी कार्गो विमानबाट शुक्रबार बेलुका चीन पठाइएको छ ।

नेपाल–चीनमैत्रीको प्रतीकका रूपमा नेपालले चीन सरकारलाई उपहारस्वरूप प्रदान गरेको गैँडाका एक जोडी चीन पठाइएको हो ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बेलुका चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्सिल कन्सुलर झ्याङ फ्यानमार्फत चीन सरकारलाई हस्तान्तरण गरेका हुन ।

मन्त्री बस्नेतले उनलाई गैँडासँगै गैँडाको उत्पत्ति, स्वास्थ्य, पशु क्वारेन्टाइन र साइटिस सम्बन्धी चार प्रमाणपत्रसमेत हस्तान्तरण गरेका थिए । यो जोडी गैँडालाई चीनको साङ्घाइ वाइल्ड एनिमल पार्कमा राखिनेछ ।

दुई जोडी गैँडा उपहारस्वरूप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रूपसी’ लाई गत असार २८ गते चीन पठाइसकिएको छ ।

यसअघि पठाइएका गैँडा गोञ्जाउ चिमेलङ सफारी पार्कमा राखिएको छ । सरकारले यसअघि विभिन्न १० मुलुकलाई २६ एकसिङ्गे गैँडा उपहार दिइसकेको छ ।