बालुवाटारमा सर्वदलीय बैठक शुरु, सभामुखको निर्वाचनबारे छलफल

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएपछि सर्वदलीय बैठक सुरु भएको छ। बिहीबार हुने प्रतिनिधिसभाका सभामुखको निर्वाचनअगाडि प्रधानमन्त्री प्रचण्डको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बसेको हो । 
बैठकमा सत्ता साझेदार दलबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी छन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी छन् । 
एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् भने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बैठकमा छन् । 
उता सरकारमा जान इन्कार गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी छिन् । 
यो बैठकमा सभामुखको निर्वाचनबारे छलफल हुनेछ । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले सभामुख निर्वाचनबारे कांग्रेससँग पनि छलफल हुने बताएका थिए ।
त्यस्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार प्रधानमन्त्रीले सभामुख र राष्ट्रपतिमा सहमति जुटाएर अघि बढ्ने आश्वासन दिने बताएका थिए। तर सोमबार बालुवाटारमा बसेको सात दलीय गठबन्धनको बैठकले राष्ट्रपति र सभामुख दुवै एमालेलाई दिने समझदारी गरेको थियो ।