लम्बिँदै नेकपाको भ्रातृ सङ्गठन एकता
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि त्यसका भ्रातृ संगठन, मोर्चा, विभाग, जिल्ला, स्थानीय, नगर र प्रदेश समिति बीचको एकता अझै टुङ्गो लागेको छैन ।
तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर (नेकपा) गठन भएको थियो ।
मोर्चा, विभाग तथा तल्ला समितिबीच एकीकरण गर्नका लागि गठन भएको कार्यदलको म्याद सकिसकेको छ तर एकताको टुङ्गो भने अझै लागेको छैन ।
तत्लो तहका कमिटी र जनवर्गीय संगठनको एकताका लागि ३० वटा भन्दा बढी कार्यदल गठन गरिएको छ ।
जेठ ६ गते बसेको नेकपाको सचिवालय बैठकले तीन महिनाभित्र सम्पूर्ण भ्रातृ संगठन तथा तल्ला कमिटीहरूको बीचमा चाँडै टुङ्गो लगाउने निर्णय भएको थियो ।
साउनको अन्तिम साता बसेको पार्टी सचिवालयको बैठकले साउनभित्र सम्पूर्ण कार्यदलले आआफ्नो प्रतिवेदन बुझाउने र भदौं ५ गतेभित्र सम्पूर्ण एकता प्रक्रियाको टुङ्गो लगाउने निर्णय गरेको थियो । र, सो निर्णयको बारेमा सम्पूर्ण कार्यदललाई जानकारी पनि पठाइएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।