भकम्प पीडितको धराप जिन्दगी
दोलखा – खरले छाएको सानो एकतले झुपडी। घरभित्र एउटा कोठा छ। कोठाभित्र भिजेका पुराना सिरक डस्ना र केही सामान असरल्ल छन्। झुपडीको दायाँतिर धुरीतर्फको गारोे लडेको छ । घरको सबै भाग चर्किएको छ, कुनै पाटो सग्लो छैन। पार्वतीले छोराछोरीसहित यही धराप घरमा तीन वर्ष गुजारिन्।
पतिको अंशमा आएको यही एउटा झुपडी र केही पाखो बारी छ। पति काठमाडौंमा भारी बोक्थे। आफूले सामान्य खेतीकिसानी र ज्यालामजदुरी गरेर चाजना सन्तान हुर्काउँदै थिइन् उनी। जेनतेन गुजारा चलिरहेको थियो। यत्तिकैमा २०७२ वैशाखको भुइँचालोले उनीहरुको सानो संसार नराम्ररी हल्लाइलियो।
केही समय पाखोमा त्रिपालमुनि बसे उनीहरू। छिमेकी सबैले अस्थायी कटेरो बनाए तर उनले त्यो पनि बनाउन सकिनन्। भरथेग केही थिएन्। पार्वतीको यो परिवार २०७२ भदौतिर फेरि त्यही धराप घरमै सर्न बाध्य भयो।
भुइँचालोपछि पार्वतीका श्रीमान केशव राजधानी छोडेर गाउँ फर्किए। दुखःमाथि दुःख थपिँदै गएका कारण केशवलाई मानसिक तनाव बढ्दै गयो। उनलाई डराउने रोग लाग्योे। केही समयपछि उनी थला परे। गाउँका स्वास्थ्यकर्मीले उपचार गर्न राजधानी लैजान सुझाए। पैसा थिएन्।
श्रीमान्को रेखदेखमै पार्वती घिमिरेको दैनिकी चल्दै थियो। खरको छानो छाउन नसक्ने पार्वतीलाई घर बनाउन असम्भव थियो। भुइँमा ओछ्यान हालेर सबै एकसाथ सुत्थे। भुइँचालो गएकै सालको पुसमा ठन्डी बढ्दै गयो। केशवलाई व्यथाले च्याप्यो। त्यही पुसको ११ गते पार्वतीले श्रीमान गुमाइन। छोराछोरी टुहुरा भए। उनको जीवनमा ठूलै बज्रपात आइलागेको आजको नागरिक दैनिकमा समाचार छ ।