अघिल्लो सरकारले छिमेकीसँग सम्बन्ध बिगार्यो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले छिमेकी र अन्तर्राष्ट्रिय शक्तिहरुसँगको सम्बन्ध बिगारेको आरोप लगाउनु भएको छ ।
कूटनीतिक क्षेत्रका विषयमा एमालेका नेता–कार्यकर्ताहरुलाई शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले भन्नु भयो ‘विगतको सरकारले छिमेकीसँग सम्बन्ध बिगार्यो बेढंगी रुपले चल्यो ।’
एमाले परराष्ट्र मामिला विभागको आयोजनामा भएको कार्यक्रममा देउवा नेतृत्वको सरकारतिर लक्षित गर्दै अध्यक्ष ओलीले भन्नु भयो ‘त्यो सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्यो। अन्तर्राष्ट्रिय सशक्तिसँग दलाली गर्यो। छिमेक सम्बन्धलाई कृत्रिम ढंगले तनावपूर्ण बनाइयो ।’
अध्यक्ष ओलीले मुलुकको हितलाई मध्यनजर गर्दै सन्तुलीत, विश्वसनिय भरपर्दो अन्तराष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताउनुभएको छ । यसअघिको सरकारले छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भएको भन्दै ओलीले अव नयाँ सरकारले सन्तुलीत, विश्वसनिय भरपर्दो अन्तराष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताउनुभएको हो ।
छिमेकमा बसेर अर्काको अहित गर्न नमिल्ने भन्दै उहाँले छिमेकीहरुका लागि असल छिमेकी हुन चाहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरु वा अड्डाहरुमा मुलुकलाई सहभागी नगराइने जिकिर गर्नुभयो ।
नेपालको सार्वभौमसत्ता, स्वाधिनतामा कुनै प्रकारको सम्झौता गर्ने उहाले स्पष्ट पार्नुभयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या, कृत्रिम ढंगले भएको महंगी लगाएतमा अन्य राष्ट्रलाई मात्रै दोष देखाइएको र आन्तरिक रुपमा केहि गर्न नसकेको समेत बताउनुभयो ।
त्यस्तै ओलीले छिमेकी मुलुकको जाजय चासो र चिन्तालाई सम्बोधन गरेर अघि बढ्ने धारणा राख्नुभयो ।