उपसभामुखमा रास्वपाकी राना र कांग्रेसकी यादवको उम्मेदवारी दर्ता

काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगरले र विपक्षी गठवन्धनबाट कांग्रेसकी मोक्ता कुमारी यादवले उपसभामुखको पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
रास्वपाकी सांसद सोविता गौतम प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्र प्रसाद लिङ्देनको समर्थनमा मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर रानाले उम्मेदवारी दर्ता गराएकी हुन् ।
राना मगर रास्वपाकी समानुपातिक सांसद हुन् । उपसभामुखमा यसअघि सोविता गौतमको चर्चा थियो । रास्वपालाई उपसभामुख दिने समझदारी बनेको थियो ।
त्यस्तै नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी छन् । उनले पार्टीका सहमहामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य बद्री पाण्डेको प्रस्तावमा उपसभामुखका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।
यादवको उम्मेदवारीमा प्रतिनिधिसभा सदस्यद्वय नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा) का सवेन्द्रनाथ शुक्ल समर्थक बसेका छन् ।
उपसभामुख चयनका लागि शनिबार निर्वाचन हुने भएको छ। बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका देवराज घिमिरे कांग्रेस सांसद ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुखमा निर्वाचित भएका थिए ।