गुल्मीमा कृषकहरुलाई यान्त्रिकरण औजार वितरण सुरु
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई गुल्मीले कृषकहरुलाई यान्त्रिकरण औजार वितरण सुरु गरेको छ । शुक्रबार परियोजना कार्यान्वयन एकाईको कार्यालय तम्घासमा कृषकहरुलाई यान्त्रिकरण औजार वितरण सुरु गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा सुचिकृत, कृषक समूह, सहकारी र निजि फार्महरुलाई ५० प्रतिशत अनुदानमा यान्त्रिकरण औजार वितरण सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई गुल्मीका कार्यालय प्रमुख गंगाकुमारी पोखरेलले जानकारी दिनुभयो । कृषक समुह, सहकारी र निजि फार्महरुको माग र आवश्यकताको आधारणमा यान्त्रिकरण औजार वितरण सुरु गरिएको पोखरेलले बताउनुभयो ।
आ.व.२०७९।०८० मा कृषक समूह, सहकारी र निजि फार्महरुबाट माग भई आएका मिनिटिलर ६०, ज्याप्लाण्टर २५, कर्नसेलर २५, मोटर स्प्रेयर २८, आरी ३०, सिकेचर ३६, डिजिटल तराजु १२, भ¥याङ ७, फुट स्प्रेयर ३, पावर स्प्रेयर ५ वटा वितरण गर्न लागिएको पोखरेलले बताउनुभयो । कृषकहरूलाई आधुनिक यन्त्र उपकरणहरुको प्रयोगले समय र लागत खर्च दुवैको बचत हुने बताउँदै उत्पादकत्वमा वृद्धिका लागि उत्साह समेत थपेको उल्लेख गर्नुभयो । जिल्लामा कृषि उत्पादनमा वृद्धि गराउने प्रमुख उद्देश्यले यान्त्रिकीककरण औजार वितरण गर्न सुरु गरिएको पोखरेलले बताउनुभयो ।
कृषकहरुलाई यान्त्रिकीकरण हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले आधुनिक कृषि उपकरणहरुको प्रयोगले कृषि उत्पादन वृद्धि गराउन सहयोग पुग्ने बताउनुभएको छ । तीन तहका सरकारहरुको साझा उद्देश्य नै कृषकहरूलाई आधुनिक कृषि यान्त्रिक औजार जस्ता उपकरण तथा आवश्यक अनुदान प्रदान गरी उत्पादकत्व बढाउनु रहेको खत्रीले बताउनुभयो । कृषकहरु सफल हुुनु भनेकै समग्र जिल्ला सफल हुनु रहेको समन्वय प्रमुख खत्रीको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले आधुनिक कृषि यान्त्रिकरणहरुको प्रयोगबाट कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न सहज पुग्ने बताउनुभयो । “बाहिरबाट आयात बढि हुने गरेको छ ।” प्रमुख जिल्ला अधिकारी पाठकले भन्नुभयो,–“आयतलाई रोक्नका लागि जिल्लामा कृषि उत्पादन बढाउन आवश्यक रहेको छ ।” उहाँले कृषकहरुलाई बलियो बनाउनका लागि स्थानीय सरकार पनि सबलीकरण हुन आवश्यक रहेको बताउनुभयो । मकै जोन सञ्चालक समितिका संयोजक शंकर पन्तले कृषि उत्पादन वृद्धि गर्न प्रशोधिकरण गरी औधोगिकरण सम्म पु¥याउन युवा जनशक्तिको अभाव भइरहेको अवस्थामा आधुनिक यन्त्र उपकरणहरु कृषकका लागि सहयोगी बनेका बताउनुभयो ।