विपदमा रेडक्रसको भूमिका अग्रणी
गुल्मीको सदरमुकाम तम्घासमा भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले हरेक विपद्मा नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाको भूमिका अग्रणी रहेको बताउनुभएको छ । शनिबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको ३९ औं साधारणसभा तथा अधिवेशनमा बोल्ने वक्ताहरुले यस्तो बताउनुभएको हो ।
सोही अवसरमा लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले कोभिड–१९ जस्ता महामारीमा पनि रेडक्रसले जिल्लाका कुना कुनामा पुगेर गरेको सहयोग र उद्वारका कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो । प्रदेश सांसद भुसालले रेडक्रस र यसले गर्ने कामलाई आफूले नजिकबाट बुझेको र यसमा आवद्ध भएर योगदान समेत गरेको बताउँदै सफा हृदय भएका व्यक्ति रेडक्रसमा लाग्नुपर्ने बताउनुभयो । रेडक्रसले जिल्लामा रक्तदान जस्ता महत्वपूर्ण क्षेत्रमा काम गरिरहेको बताउँदै प्रदेश साँसद भुसालले आगामी दिनमा पनि रचनात्मक कामहरुलाई अगाडी बढाउन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले अफ्ठारो समयमा सम्झने संस्था नै रेडक्रस भएको बताउनुभयो । रेडक्रस कहिले पनि विभाजित संस्था नरहेको बताउँदै रेडक्रसको साखलाई धमिलिन दिन नहुने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीले आगामी दिनमा सबै रगत र रक्तजन्य पदार्थको सेवालाई निःशुल्क बनाउन प्रदेश र संघ सरकार लाग्नुपर्ने बताउनुभयो । यसका लागि रेडक्रसले समन्वय गरिरहेको बताउँदै पंगेनीले यसको कार्यान्वयनका लागि आवश्यक नीति, कार्यक्रम र बजेट व्यवस्थापन गरिदिन समेत आग्रह गर्नुभयो । साथै उहाँले राजनैतिक नेतृत्वतहबाट हस्तक्षेप गर्न खोज्नुले केन्द्रीय अधिवेशनमा समस्या भइरहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण बहादुर खत्रीले रेडक्रस मानवतासँग जोडिएको संस्था भएको भन्दै मानवियता विनाको विकास अपूर्ण हुने उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले विपद् व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय र रेडक्रस समन्वय सहकार्य गरि अगाडि बढेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष अनिल कक्षपति, नेकपा माओवादी केन्द्रकी नेतृ गीता थापा, नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनार, नेपाली काँग्रेस गुल्मीका उपसभापति अनन्तराम पौडेल लगायतका राजनीति दलका प्रतिनिधिहरुले रेडक्रसका लागि आवश्यक सहयोग गर्न आफु र आफुहरु आवद्ध पार्टी तयार रहने प्रतिवद्वता जनाउनुभयो ।
निर्वाचन संयोजक एवम् नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सदस्य कैलाशकुमार श्रेष्ठ, वडाअध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा रेडक्रस संरक्षकहरू, शिक्षक नायकहरू तथा जिल्लाभरका रेडक्रसकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको उद्घाटन शत्रको कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थी, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय पू्र्व मन्त्री पिताम्बर अर्यालले रेडक्रसका विषयमा प्रकाश पार्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको थियो । उद्घाटन शत्रको समापनका अवसरमा गुल्मी जिल्ला शाखाका सभापति श्रेष्ठले जिल्लामा रेडक्रसले सञ्चालन गरेका विभिन्न गतिविधिका विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
सभापति श्रेष्ठका अनुसार यस जिल्लामा नेपाल रेडक्रस सोसाइटीका उपशाखा २४ वटा रहेका छन् । जसमा आफ्नै भवन भएका उपशाखाहरू ८ वटा रहेका छन् । आधारभूत तहमा गठित जुनियर रेडक्रस सर्कलको संख्या १८, मावि तहमा गठन गरिएको युवा रेडक्रस सर्कलको संख्या ११९, क्याम्पस तहमा गठित युवा रेडक्रस सर्कलको संख्या ५ वटा रहेका सभापति श्रेष्ठले जानकारी दिनुभयो । उपसभापति राधा पन्थीको स्वागत मन्तव्य तथा मन्त्री लालबहादुर कुँवरको सञ्चालन रहेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।