एयरपोर्ट ट्राफिकको असुली धन्दा


काठमाडौं । एयरपोर्ट ट्राफिक प्रहरी कार्यालयको अत्याचारले सीमा नाघेको खबर बाहिर आएको छ । खासगरी यही रुट भएर पूर्वी तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायत जिल्लाहरूमा आउजाउ गर्ने रात्रिकालीन बसहरू गौशाला वरपरका खाली क्षेत्रमा पार्किङ गर्ने गरिएको छ । पार्किङ गरे वापत बस संचालकले जग्गा धनीलाई दैनिक २ सय देखि तीन सय रुपैयाँ शुल्क बुझाउँदै आएका छन् ।
तर एयरपोर्ट ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत बहादुर नेपालको नजर पार्किङमा रहेका बसमा जाने गरेको बताइन्छ । त्यसका लागि उनले वरिष्ठ हवल्दार कटक बहादुर खड्का र जवान चुडामणि वलीलाई गोप्य रुपमा परिचान गरी बस संचालकसँग मासिक प्रति बस ५ देखि ६ हजार रकम असुल्ने गरेको गुनासो बाहिर आएको छ । नयाँ बसपार्क भित्र पार्किङ गर्न लैजादा अपाएक पर्नुका साथै दैनिक ८ सय शुल्क बस संचालकले बुझाउनु पर्नेछ । यसकारण पनि पुर्वतर्फको तराईका जिल्लामा चल्ने अघिकांश बसहरू यही गौशाला एरियाको खाली ठाउँमा पार्किङ हुँदै आएका छन् ।
पार्किङस्थमा बस राख्दा पनि निरीक्षक नेपालले परिचान गरेका बरिष्ठ हवल्दार खड्का र जवान वलीले कागज पत्र चेक गर्ने र रुट परमिट चेक गर्ने नाममा अनावश्यक रूपमा रकम असुल्ने गरेको गुनासो पीडितहरूले गरेका छन् । एकातिर जग्गा धनीलाई पार्किङ शुल्क तिनुपर्ने अर्कोतर्फ पुनः ट्राफिक प्रहरीलाई पनि बुझाउँनु पर्दा आफुहरू दोहोरो मारमा परेको बस संचालकहरू बताउँछन् ।
प्रहरी निरीक्षक नेपालले बस संचालकसँग असुल गरिएको रकम आफुहरूलाई नभइ महानगरिय ट्राफिक कार्यालय रामशाहपथका हाकिमहरूसमक्ष पुर्याउने गरेको जवाफ दिने गरेको समाचारस्रोतले जानकारी दिएको छ ।