नयाँ महानिर्देशक पठाउने बिषयमा मन्त्रालय नै अलमलमा ?
काठमाडौं । राष्ट्रपति कस्लाई बनाउने भन्ने बिषयमा सत्ता गठबन्धन भित्रै पाथापच्छि चलिरहेको छ । यही कारण बर्तमान सरकारको भविष्यलाई लिएर बिभिन्न किसिमका अडकलबाजीहरू पनि भइरहेका छन् । यही बिचमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले धेरै लामो समयपछि केही काम गरेर देखाउन चाहने मन्त्री नारायण काजी श्रेष्ठ र सचिव केशव कुमार शर्मालाई पाएको छ । मन्त्री, सचिव दुबै इमान्दार र काम गर्न खोज्ने भएकाले मन्त्रालयमा लय मिलेको छ । तर अब मन्त्रालयका महाशाखा, सडक विभाग, आयोजना र डिभिजन सडक कार्यलयहरूमा काम गर्ने टिमहरूलाई सरूवा गर्नैपर्ने बाध्यता उनीहरूमा रहेको छ ।
तर प्रमुख सत्ता गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा हिजो बनिसकेको सहमतिलाई कार्यान्वयन गर्ने बिषयमा ठुलै गलफत्ती चलिरहेको छ । एमालेले राष्ट्रपति पद आफुले नछोडने बटमलाइनमा कायम छ । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले भने ०७९ पुष २६ गते नेपाली काँग्रेसले पनि वर्तमान सरकारलाई विश्वासको मत दिएकोले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने धारणामा अडिग छ । यी दुई फरक फरक बिषयका सरकारभित्र अन्तर बिरोध बढेर सरकारको भविष्य नै अन्योलमा पर्दै गएको छ ।
मन्त्रालयमा सचिव परिवर्तन गरिएसँगै विभागका महानिर्देशक पनि सरूवा हुने चर्चा सुरू भएको थियो । तर सत्ता गठबन्धन दलभित्र राष्ट्रपतिको उम्मेदवारको बिषयमा बढेको बिवादका कारण सरकार नै अन्योलमा पर्ने र श्रेष्ठको मन्त्री पद नै धरापमा पर्नसक्ने अडकलबाजी भइरहेको छ । यस्तो अवस्थामा तत्कालै विभागको महानिर्देशक परिवर्तन गर्ने कि नगर्ने निष्कर्षमा मन्त्री श्रेष्ठ र सचिव शर्मा पुग्न सकेका छैनन् ।
विभागका महानिर्देशक अर्जुनजंग थापाले राम्रै काम गर्दै आएका छन् । दुई पटक महानिर्देशक भइसकेका थापा छिटो निर्णय गर्न सक्ने, क्षमतावान, अनुभवी मानिन्छन् । तर तत्कालीन मन्त्री रेणु कुमारी यादवले आफैंले हटाएर पनि पुनः थापालाई महानिर्देशकमा लगेकी थिइन् । थापा सचिवमा बढुवा हुने लाइनमा थिए । तर अघिल्लो सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सहसचिव रामआधार साहलाई सचिव बढुवा गर्दा थापा पछि परेका छन् ।
विभागको महानिर्देशक हुन मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख बरिष्ठ सुई शिव नेपालले चाहना राखेका छन् । उनी यसअघि विभागको २ महिना कामु महानिर्देशक भएर नेतृत्व गरिसकेका छन् । त्यस्तै, विभागका योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका सुई भिमार्जुन अधिकारी पनि प्रवल दावेदार रहेका छन् । उनी पछि एडीबी निर्देशनालयका निर्देशक सुशीलबाबु ढकालले पनि चाहना गरिरहेका छन् ।
वरिष्ठताका आधारमा मन्त्रालयका सहसचिव सुई नेपाल महानिर्देशक थापा पछिका बरिष्ठ सुई र पहिलो दाबेदार हुन । उनी इमान्दार र मेहनती सुईका रूपमा परिचित छन् । तर उनी आगामी २०८० जेठमा ५८ वर्ष उमेर हद पूरा भएर अनिवार्य अवकास हुँदैछन् । यसअघि दुई महिना विभागको कामु महानिर्देशकको जिम्मेवारी सम्हाल्दा उनले गरेका कामको मुल्यांकन गदैं नेपाललाई केही महिनाको भए पनि महानिर्देशक बनाएर न्याय गर्नुपर्दछ भन्नेहरूको मत विभाग र मन्त्रालयमा बलियो रहेको छ ।
सुई नेपालपछि विभागका उपमहानिर्देशक तथा योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख अधिकारी महानिर्देशकको दावेदारी मानिन्छन् । उनी कानुनले दिएको अधिकार भन्दा दायाँ बायाँ नगर्ने स्वभावका कारण विभागका कर्मचारी र व्यवसायीहरू त्यति सन्तुष्ट छैनन् । सोझा, कानुन विपरित थोरै पनि यताउता नगर्ने स्वभाव, ऐन– कानुन अनुसार चल्न खोज्ने भएकोले सुई अधिकारीप्रति मन्त्री श्रेष्ठ र सचिव शर्मा पनि सकारात्मक रहेको बताइन्छ । तर उनी बल गरेर महानिर्देशक बन्ने पक्षमा नरहेको उनी निकटस्रोतले जानकारी दिएको छ । महानिर्देशक भएको खण्डमा पनि उही तलव भत्ता आउने भएकोले मरिहत्ते गर्ने पक्षमा अधिकारी छैनन् । सचिव हुन कसैले रोक्न नसक्ने भन्दै उनी महानिर्देशकको चलखेलमा लागका छैनन् । उनको जागिर अवधि पनि ८–९ वर्ष बाँकी रहेको स्रोतको दाबी छ ।
अर्काेतिर एडीबी निर्देशनालयका निर्देशक सुई ढकाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखाका पुराना बासिन्दा र हाल चितवन निबासी हुन् । उपप्रधानमन्त्री श्रेष्ठ र प्रधानमन्त्री प्रचण्डलाई रिझाएर भएपनि उनी महानिर्देशक बन्ने जोडबल लागेको बताइएको छ । मन्त्री र सचिव नै कमिशन नखाने, आफ्नो पालामा केही काम गरेर देखाउने पक्षमा बिहान चाँडो र बेलुकी अबेर रातीसम्म मन्त्रालयमा बसेर काम गर्दै आएका छन् ।
सुई नेपाल र अधिकारी सचिव शर्मा निकट रहेका छन् । सुई ढकाल भने मन्त्री निकटका रहेको बताइन्छ । कामका आधारमा मुल्यांकन गरी निष्पक्ष रूपमा महानिर्देशक बनाउन चाहे सुई नेपाललाई चार महिनाका लागि महानिर्देशक बनाएर न्याय दिनुपर्ने स्रोतको दाबी छ । तर शक्तिकेन्द्रको इशारामा नियुक्ति भयो भने ढकालले बाजी मार्नसक्ने अडकलबाजीहरू भइरहेको छ ।
समान्यतया विभागको महानिर्देशकको अवधि डेढ–दुई वर्ष हुने गर्छ । यो हिसावले थापाले पहिलो पटक ०७७ फागुन ११ देखि ०७८ पुष १५ गतेसम्म अवसर पाएका थिए । दोश्रो पटक ०७९ जेठ २ गते देखि हालसम्म उनले विभागको नेतृत्व संहालिरहेका छन् । उनलाई यो आर्थिक वर्षसम्म काम गर्न दिएर सरूवा गर्दा राम्रो हुने भनाइहरू पनि बाहिर आएका छन् । सडकमा यसपालि ठुला आयोजना बजेटको अभावले अघि बढने अवस्था नरहेकाले पुरानै महानिर्देशकलाई निरन्तरता दिदा केही फरक पर्दैन भन्ने विभाग र मन्त्रालयका केही अधिकारीहरूको मत रहँदै आएको छ ।