अन्तर्राष्ट्रिय बजारमा गुल्मी कफीको माग बढ्दो, उत्पादनमा ह्रास

नेपालमा कफी खेतीको सुरुवागत गर्ने उद्गमस्थल गुल्मीमा कफी खेतीको सोंचेजस्तो विकास र विस्तार हुन सकेको छैन् । नेपालमा वि.सं.१९९५ सालतिर गुल्मी आँपचौर निवासी हिरा गिरीले बर्माबाट कफी बिउ ल्याई आँपचौरमा रोपेर सुरू गरेको भएपनि यस जिल्लमा कफीको सोंचेजति विकास र विस्तार तथा उत्पादन हुन नसकेको हो ।

दिनप्रतिदिन कफी उत्पादनमा ह्रास आउँदै जान थालेको छ । उत्पादन भएको कफीको बजारीकरणको समस्या छैन् । जिल्लामा जिल्ला कफि सहकारी संघ र बलेटक्सार कफि सहकारी संघले कफीको बजारीकरण गर्दै आएका छन् । जिल्लाभित्र उत्पादन भएका कफीहरु संकलन् गर्ने, प्रशोधन गर्ने, अन्र्तराष्ट्रिय बजार र राष्ट्रिय बजारमा पु¥याउँने कार्य जिल्ला कफी सहकारी संघले गर्दै आएको उपाध्यक्ष यमबहादुर थापाले जानकारी दिनुभयो ।
कफी बजार प्रवर्धन समितिका संयोजक समेत रहनुभएका थापाले दिनप्रतिदिन कफी उत्पादनमा ह्रास आउँदै जान थालेको बताउनुभयो । “अन्र्तराष्ट्रिय बजारमा कफीको माग अत्याधिक छ । तर उत्पादनमा दिनप्रतिदिन ह्रास आउँदै जान थालेको छ । यो चिन्ताको विषय बनेको छ ।” थापाले भन्नुभयो,–“जिल्लाभित्र उत्पादन भएको कफी विक्रिवितरण गर्ने र अन्र्तरािष्ट्रय बजारमा विक्रिवितरण गर्ने काम हामीले गरिरहेका छौं ।”
अन्तर्राष्ट्रिय बजारमा अन्य जिल्लामा उत्पादन भएको कफीको तुलनामा गुल्मी जिल्लामा उत्पादन भएको कफीले राम्रो गुणस्तर कायम गर्न सफल भएको छ । “अन्य जिल्लामा उत्पादन गरेको कफी भन्दा राम्रो गुणस्तर कायम गर्न सफल भएका छौं ।” थापाले भन्नुभयो । “यस जिल्लामा उत्पादन भएको कफी स्थानीय बजारमा भन्दा अन्तर्राष्ट्रिय बजारमा चर्को माग रहेको छ ।”
यस जिल्लामा उत्पादन भएको कफी जापानमा बढी स्वादिलो कफीको रुपमा यसलाई बढी लिने गरिएको थापाले बताउनुभयो । त्यहाँका उपभोक्ताहरुमा यस जिल्लामा उत्पादन भएको कफीको राम्रो छाप परेको छ । “यति हुँदा हुँदै पनि माग अनुसारको निर्यात गर्न सकिरहेका छैनौं । त्यो भने दुःखद पक्ष हो ।” थापाले भन्नुभयो, “राज्यको ध्यान केबल भौतिक निर्माणमा मात्र केन्द्रीत छ । उत्पादनमा कुनै पनि तहका सरकारल ध्यान पु¥याउन सकिरहेका छैनन् ।” यस जिल्ला कफीको अथाह सम्भावंना हुँदा हुँदै पनि राज्यको ध्यानमा नपर्नु दुःखद पक्ष रहेको थापको भनाई छ ।
सरकारी तथ्याङ्क अनुसार यस जिल्लामा कुल क्षेत्रफलको करीब ७० प्रतिशत कफीका बोट फलेका छन् । आर्थिक आर्थिक वर्ष २०७८÷०७९ मा २२५ हेक्टर क्षेत्रमा कफी खेती गरिएको छ । जसबाट २८ मेट्रिक टन कफी उत्पादन भएको छ । त्यस आर्थिक वर्षमा १७ सय ४० कृषकहरुले कफी खेती गरेका हुन् ।
आगामी आर्थिक वर्ष ०७९÷८० मा कफी उत्पादन २४१ हेक्टर क्षेत्रफलमा लगाइने र जसबाट ३० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । भने कफी खेती गर्ने कृषकहरु पनि बढेर १८ सय ५ पुग्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
यस जिल्लामा कफी उत्पादनका पकेट क्षेत्रहरु मुसिकोट नगरपालिका र रुरु गाउँपालिकाका क्षेत्रमा कफी लगाईएको छ । ठूला बगैचा नभए पनि जिल्लाका अन्य स्थानहरु मालिका, मदाने, इस्मा, धुर्कोट, रेसुङ्गा, गुल्मी दरवार, छत्रकोट, सत्यवती, चन्द्रकोट र कालीगण्डकीमा समेत कफी खेती गरिएको छ । यस जिल्लामा ठूला कफी बगैचा नरहेको तर खेती छरिएको भण्डारीले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षमा कृषि ज्ञान केन्द्रले कफीको उत्पादन वृद्धिका लागि कफी बगैचा सुदृढिकरणमा सहयोग गरेको छ । यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासेले लिएको आँपचौरको पिपलारुखमा दुई सय रोपनी जग्गाको लागि जग्गा भाडा उपलब्ध गराउने, कफी बगैँचाको स्थलगत भ्रमण, कफी खेतीमा संलग्न व्यवसायिक कृषकहरु, उद्यमीहरु बीचको प्रत्यक्ष छलफल गरिएको भण्डारीले जानकारी दिनुभयो ।
नेपालमा वि.सं.१९९५ सालतिर गुल्मी आँपचौर निवासी हिरा गिरीले बर्माबाट कफी बिउ ल्याई आँपचौरमा रोपेर सुरू गरेको भएपनि यस जिल्लमा कफीको सोंचेजति विकास र विस्तार तथा उत्पादन भने हुन सकेको छैन् । छहारी व्यवस्थापन नगरि लहडका भरमा कफि लगाउदा सेतो गवारोको प्रकोप बढि देखिएको र साथमा रोगको समेत समस्या देखिएका कारण अपेक्षित रुपमा कफीको उत्पादन वृद्धि हुन नसकेको कृषि विज्ञ भण्डारीले जानकारी दिनुभयो ।
बिरुवाको उचित व्यबस्थापन नहुँदा तुसारोका कारण ६० प्रतिशत भन्दा बढि बिरुवा मरेका, बिरुवा रोपणमा मात्र सबैको जोड बढी देखिएको समेत उहाँले बताउनुभयो । सरकारी निकायबाट बिरुवा रोपणका लागि मात्र सहयोग केन्द्रित रहेको, लगाएको ३ बर्ष पछि उत्पादन दिने र बिरुवा जोगाउन पनि कठिन हुने हुँदा तुलनात्मक रुपमा नाफा हुने अर्को कृषि उद्यम रोज्न कृषकहरुले थालेका कारण पनि अपेक्षित रुपमा उत्पादनमा वृद्धि नभएको भण्डारीको भनाई छ ।
कृषि ज्ञान केन्द्र गुल्मी आगामी बर्षको कार्यक्रम कफी कृषकहरुको बगैचामै पुगेर कृषकहरुको आवश्यकता पहिचान गरेर मात्र कार्यक्रम तय गर्ने छ । नमूना कार्यक्रमहरु देखाईनेछ । कफि गुल्मीको पहिचान, गुल्मीको गौरव भएकाले यसको उत्पादन वृद्धिका लागि सबै पक्ष लाग्नुपर्ने भण्डारीले बताउनुभयो ।