सुशासन अभियान गुल्मीले जिल्ला प्रशासनमा सेवाग्राहीबाट गुनासो संकलन

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मीले जिल्ला प्रशासन कार्यालय तम्घासमा सेवाग्राहीबाट गुनासो संकलन् गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा गुनासो डेस्क राखी सेवाग्राहीहरुबाट गुनाँसो संकलन गरिएको सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले जानकारी दिनुभयो ।

भष्ट्रचार, ढिलासुस्ती र अनियमितता विरुद्ध लामो समय देखि निगरानी र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको सुशासन अभियान गुल्मीले जिल्ला प्रशासन कार्यालयमा गुनासो डेस्क राखी सेवाग्राहीहरुबाट गुनासो संकलन् गरेको हो । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवासम्बन्धमा सेवाग्राहीबाट गुनासो संकलन गरि समाधानका लागि पहल गर्ने उद्देश्ले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
त्यस क्रममा सेवाग्राहीहरुले विभिन्न गुनासा राखेका छन् । उनीहरुले राष्ट्रिय परिचयपत्रको पुनःनम्बर प्राप्तिका लागि समस्या भएको, पुनः नम्बर प्राप्तिका लागि प्रशासनले जानकारी गराएको कल सेन्टरमा फोन गर्दा फोन नउठेको, सोही जानकारीका लागि मात्रै धेरै समय र पैसा खर्च गरेर जिल्लामा आउनु परेको, लगायतका गुनासो गरेका संस्थाका उपाध्यक्ष ढुण्डीराज पोखरेलले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट तत्कालै सम्बोधन गर्ने समस्या समाधान भएका र केही गुनासाहरुका सम्बन्धमा भने प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र मार्फत जानकारी गराउने अभियानका सचिव विनोद पाण्डेले जानकारी दिनुभयो ।
यस संस्थाले स्थापनाकाल देखि ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालसंग आवद्ध भई काम गर्दै आइरहेको छ । संस्थाले राष्ट्रिय तथा जिल्ला स्तरमा विद्यमान आर्थिक भष्ट्रचार र सार्वजनिक अधिकारको दुरुपयोगलाई संगठित र संस्थागत रुपमा प्रतिरोध गर्दै सामाजिक क्रियाकलाप तथा आर्थिक कारोबार सम्बन्धी पद्धति व्यवहारमा शुद्धता र समन्यायलाई प्रोत्साहित गर्नका लागि विभिन्न रचनात्मक काम गर्दै आइरहेको छ ।