गुल्मी समाज अस्ट्रेलियाले झण्डै डेढ लाख लागतका सामान सहयोग

गुल्मीको आशा अपाङ्ग केन्द्रलाई झण्डै डेढ लाख लागतका सामान सहयोग गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–२ धाँगीथुममा रहेको आशा अपाङ्ग केन्द्रलाई गुल्मी समाज अस्ट्रेलियाले झण्डै डेढ लाख लागतका सामान सहयोग गरेको हो । बिहिबार गुल्मी समाज अस्ट्रेलियाले पठाएको वासिङ मेसिन तथा भ्याकुम क्लिनर आशा अपाङ्ग केन्द्रका अध्यक्ष जनार्दन घिमिरे, उपाध्यक्ष गंगा रायमाझीलाई हस्तान्तरण गरिएको छ ।

केही समय अघि गुल्मी समाज अस्ट्रेलियाका पूर्व सचिव प्रेम सापकोटा लगायतले आशा अपाङ्ग केन्द्रको अनुगमन गर्नुभएको थियो । पूर्व सचिव सापकोटालाई आशा अपाङ्ग केन्द्रका लागि वासिङ मेसिन र भ्याकुम क्लिनरको आवश्यकता रहेको केन्द्रले बताएपछि गुल्मी समाज अस्ट्रेलियाले आशा अपाङ्ग केन्द्रको सहजताका लागि कपडा धुनका लागि प्रयोग गरिने वासिङ मेसिन तथा सरसफाइका लागि प्रयोग गरिने भ्याकुम क्लिनर पठाएको थियो ।
वासिङ मेसिन तथा भ्याकुम क्लिनर नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका उपमन्त्री महेन्द्रप्रसाद भण्डारी तथा उहाँका दाजु समाजसेवि युवराज भण्डारीले आशा अपाङ्ग केन्द्रलाई सामान हस्तान्तरण गर्नुभएको थियो । गुल्मी समाज अस्ट्रेलियाका पूर्व सचिव प्रेम सापकोटा भण्डारी दाजुभाईको नातामा भान्जा समेत हुनुहुन्छ ।
आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष रायमाझीले आशा अपाङ्ग केन्द्रलाई सहयोग गरेको भन्दै गुल्मी समाज अस्ट्रेलियालाई संस्थाले धन्यवाद दिनुभयो । “आशा अपाङ्ग केन्द्रमा धेरै अपाङ्गता भएका महिला कर्मचारी रहनुभएको छ ।” उपाध्यक्ष रायमाझीले भन्नुभयो,–“कपडा धुने तथा यस केन्द्रको सरसफाई गर्ने व्यक्ति पनि अपाङ्ग भएका कारण सहजताका लागि वासिङ मेसिन र भ्याकुम क्लिनरको माग गरेका थियौं ।” उपाध्यक्ष रायमाझीले आगामी दिनमा पनि थप सहयोगको आवयश्यकता रहेको बताउनुभयो ।