गुल्मीको तम्घासमा घरको दलानबाट स्कुटर चोरी

गुल्मीको तम्घासबाट स्कुटर चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–२ धागीथुम स्थित घरमा पार्किङ्ग गरी राखेको १८ मोडेलको लु ५० प ९२०२ नम्बरको स्कुटर गएराति चोरी भएको हो । स्थानीय सीता खत्रीको नाममा रहेको कलेजी कलरको स्कुटर चोरी भएको खत्रीका श्रीमान मनबहादुर खत्रीले जानकारी दिनुभयो । खत्री दम्पत्ती आफ्नो परिवार सहित धागीथुममा डेरा गरी बस्दै आउनुभएको छ । घरको दलानमा पार्किङ्ग गरि राखिएको स्कुटर चोरी भएपछि खोजी कार्य जारी रहेको छ ।

“स्कुटर किनेको चार वर्ष भएको थियो । दुई महिना अघिसम्म स्कुटरलाई चेनगेट भित्र पार्किङ्ग गरी राख्ने गथ्र्यो । तर पछि पल्सर बाइकसँगै दलानमा पार्किङ्ग गरी राख्न सुरु गरेका थियौं ।” मनबहादुरले भन्नुभयो,– “बिहिबार साँझ पार्किङ्ग गरी राखेको स्कुटर शुक्रबार विहान ६ बजे क्याम्पस जाने समयमा स्कुटरको चाबी लिएर बाहिर निस्कदा स्कुटर थिएन्।”
खत्रीले बिहिबार विहान साढे दश बजे सोही स्कुटरमा इस्माको दोहोली पुगेर आउनुभएको थियो । “पार्किङ्ग गर्दा स्कुटरको हेन्डील लक गर्न पनि भुलेछु । साँझ पार्किङ्ग गरेर राखेको स्कुटर घरको दलानभित्रैबाट हरायो ।” स्कुटर हराएपछि प्रहरीलाई खबर गरेको बताउँदै खत्रीले अहिले खोजी कार्य जारी रहेको बताउनुभयो । सोही घरको तल्लो फ्लाट भाडामा लिएर बस्नुभएका खत्री दपत्तीको स्कुटरसँगै पल्सर बाईकसँगै रहेको थियो ।
त्यस घरका घरबेटीका अनुसार शुक्रबार बिहान सोध खोज गर्दा सोही घरमा रहेको कुकुर राती करिब १ः ०० बजे कराएको थियो । तर मौसम पानी पर्ला जस्तो भएकाले बाहिर कोही नआएको बताउँदै खत्रीले कसैले पूर्व योजना बनाएर चोरी गरेको हुन सक्ने दाबी गर्नुभयो । खत्रीले भन्नुभयो,–“नजिकै रहेको शिक्षा विकास तथा समन्वय इकाईमा जडान गरिएको सिसिटिभि फुटेज तथा रेसुंङ्गा माध्यमिक विद्यालय, जिल्ला प्रशासन कार्यालयद्वारा जडान गरिएका सिसिटिभि क्यामेरामा फुटेज हेर्नका लागि आग्रह गरेको छु ।” सदरमुकामबाटै स्कुटर चोरी भएपछि स्थानीयहरुले असुरक्षित रहेको महसुस गरेका छन् ।