गुल्मीमा एसईई परीक्षामा ५९ जना विद्यार्थी अनुपस्थित

गुल्मीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा सञ्चालन भइरहेको छ । अहिलेसम्म विद्यार्थीहरुले अग्रेंजी, गणित, नेपाली र विज्ञान विषयको परीक्षा दिएका छन् । परीक्षामा जिल्लाका १४० वटा विद्यालयका विद्यार्थीहरु सहभागी भइरहेका शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्राविधिक सहायक राधिका पन्थीले जानकारी दिनुभयो ।

अहिलेसम्म सञ्चालन भएको परीक्षामा यस जिल्लामा ५९ जना विद्यार्थी अनुपस्थित भएका छन् । पन्थीका अनुसार २९ जना छात्रा र ३० जना छात्र परीक्षामा अनुपस्थित भएका देखिएको छ । यस जिल्लामा २८ वटा परिक्षा केन्द्रबाट एसईई परीक्षा सञ्चालन भइरहेको छ ।
जिल्लाका १४० वटा विद्यालयका चार हजार ७२२ विद्यार्थी सहभागी हुनुपर्नेमा संख्यामा परिक्षार्थीहरु अनुपस्थित भएका पन्थीले जानकारी दिनुभयो । यस वर्ष एसईईमा साधारणतर्फ चार हजार ३३८ र नियमित प्राविधिकतर्फ ३४२ विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन् । त्यस्तै, नियमिततर्फ खुला आठ र आंशिक तथा ग्रेडवृद्धितर्फ ४२ विद्यार्थी परीक्षामा सहभागी भइरहेका हुन् । अहिलेसम्म सञ्चालन भएका परीक्षा शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न भएका पन्थीले बताउनुभयो ।