रेसुंगामा गरिने धार्मिक महोत्सवमा दुई हजार बढी संख्याको मूल आयोजक समिति बनाइने
गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुंगामा सञ्चालन गरिने धार्मिक महामहोत्सवलाई भव्य रुपमा सफल बनाउन बृह्त भेला गरी विभिन्न निर्णय गरिएको छ । सोमबार सदरमुकाम तम्घासमा रहेको बालमिन्दरमा बृह्त भेलाको आयोजना गरि बैशाख २३ गते देखि ३१ गतेसम्म रेसुंगामा सञ्चालन हुने ‘श्रीराम महायज्ञ, श्रीराम कथा महामहोत्सव एवम् विराट सन्त भक्त दर्शन मेला’ सञ्चालनका लागि विभिन्न निर्णय गरिएको हो ।
भेलाले दुई हजार एक सय ११ सदस्यीय मूल आयोजक समिति बनाउने तथा दुई दर्जन भन्दा बढि उपसमितिहरु बनाउने निर्णय गरिएको रेसुंगा संरक्षण समितिका सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले जानकारी दिनुभयो ।
“भेलामा हामीले मूल आयोजक समितिको सदस्य बन्न कम्तिमा १ हजार १ सय ११ रुपियाँ भेटि स्वरुप प्रदान गर्नुपर्ने निर्णय गरेका छौं ।” सह–सचिव पन्थीले भन्नुभयो–, “दानवीर सम्मान सम्बन्धि पनि विभिन्न महत्वपूर्ण निर्णय भएका छन् ।” उपसमितिहरुलाई पूर्णता दिन तथा जिम्मेवारी प्रदान गर्न निरन्तर रुपमा लागिरहने समेत निर्णय गरिएको उहाँले बताउनुभयो ।
रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालको अध्यक्षतामा भएको बृह्त भेलामा लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालको प्रमुख आतिथ्यता तथा बह्मचारी तदर्थानन्द स्वामी, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, रेसुंगा नगरपालिकाका उपप्रमुख अमृतादेवि कुँवरको बिशेष आतिथ्यता रहेको थियो ।
बृह्त भेलाका प्रमुख अतिथि भुसालले रेसुंगाको विकास र प्रचारका लागि आफु नगरप्रमुख हुँदा पनि रेसुंगाको विकासका निमित्त थुप्रै भौतिक संरचनाहरु निर्माण गर्न सहयोग पु¥याएको भन्दै आउँदा दिनमा पनि सहयोग जुटाउन लागिपर्ने बताउनुभयो । भुसालले सञ्चालन गर्न लागिएको महायज्ञ सफल बनाउन सम्पूर्ण तबरले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
बिशेष अतिथि तदर्थानन्द स्वामीले रेसुंगा र अयोध्याको सम्बन्ध नितान्त रुपमा ऋष्य श्रृङग्यसँग रहेको र ऋष्य श्रृङग्यकै नामबाट रेसुंगाको नामाकरण भएको भन्दै महायज्ञबाट दुई प्रसिद्ध धार्मिक तिर्थस्थलहरुलाई अन्तराष्ट्रिय रुपमा परिचित गराउन ज्यादै ठुलो भूमिका रहने बताउनुभयो ।
नेपाली काँग्रेसका सहसचिव धर्मराज पाण्डे, नेकपा एमाले गुल्मीका उपसचिव सावित्रा आचार्य, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव अशोक थापाले शुभकामाना दिंदै महायज्ञ सफल पार्न पार्टीको तर्फबाट सम्पूर्ण तबरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साहित्यकार शशि पन्थी र दीन पन्थीले महायज्ञलाई सफल पार्न महत्वपूर्ण सुझाव दिनुभएको थियो ।
यस्तै सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले शैक्षिक संस्थाहरुमा महायज्ञलाई सफल बनाउन आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा भुसालले महायज्ञ सफल पार्न आफ्नो तर्फबाट सक्ने सम्पूर्ण सहयोग गर्ने बताउँदै उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारीहरु र संघमा आवद्ध सदस्यहरुलाई महायज्ञमा सहभागी बनाउन आवश्यक पहल गर्ने उल्लेख गर्नुभयो ।
रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले भेलामा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै रेसुंगालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महायज्ञले महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । रेसुंगाको महिमा र उर्जाका बारेमा जानकारी गराउन संरक्षण समितिमा आवद्ध भई विगत लामो समय देखि निरन्तर लागि परिहेको भएता पनि त्यो अवसर अहिले प्राप्त भएको भन्दै महायज्ञलाई सफल बनाउन सम्पूर्ण जिल्ला तथा हिन्दूधर्मालम्वीहरुलाई आव्हान् समेत गर्नुभयो ।
“यस्तो अवसर जीवनमा ज्यादै कम आउने हुनाले यो पुण्य कार्यमा सबैको सकरात्मक सहयोग र सदभावको आवश्यकता छ ।” उहाँले भन्नुभयो,– “यो महामहोत्सवबाट भारतको प्रख्यात अयोध्याधाम र राजस्थान तथा नेपालको प्रसिद्ध धार्मिक स्थल रेसुंगा तपोभूमी, सिद्ध भूमि, बीचको सम्बन्ध प्रगाढ हुनेछ ।”
विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरुमा रेसुंगाको महिमा, महत्व, र उर्जाको बारेमा प्रचारप्रसार हुन गई समग्र लुम्बिनी प्रदेशको धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको बताउनुभयो । संस्थाका उपाध्यक्ष मोतिप्रसाद खनालको स्वागत संस्थाका सचिव गोपालप्रसाद पन्थीद्वारा विषय प्रवेश र संस्थाका सहसचिव यज्ञप्रसाद शर्मा पन्थीको सञ्चालनमा कार्यक्रम गरिएको थियो ।
भेलामा गुल्मीमा रहेका विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरु, जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसंस्थासँग आवद्ध संस्थाका प्रमुख लगायतको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।
महामहोत्सवलाई भव्य रुपमा सफल पार्न महामहोत्सवको सम्पर्क कार्यालय तम्घासस्थित शहिदचोक अगाडी रहेको जिल्ला समन्वय समितिको आवासको तल्लो तलामा राखिएको छ । महायज्ञमा मठ जोगिनी बाडा पिकेनर राजस्थान भारतका योगी शम्भुनाथजी महाराजद्वारा श्रीराम कथा वाचन हुने र श्रीराम अयोध्याधाम भारतबाट स्वामी राजेन्द्रनन्दजी महाराज सहित सयौंको संख्यामा भारतीय सन्तहरु तथा नेपालका प्रकाण्ड विद्धानहरुको समेत उपस्थिति रहनेछ ।