भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित, माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । सरकारले व्यवसायीहरुको भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
असार मसान्तसम्म पनि व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर, लामो समयदेखिको बाँकी बीलको रकम तुरुन्त भुक्तानी गर, माइलस्टोनको व्यवस्था तुरुन्तर खारेज गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सरकारले आफुहरुको भुक्तानी नगर्दा निर्माण कार्यमा असर परेको, तलव खुवाउन नसकेको बैंकको व्याज तिर्न नसकेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको महासंघका प्रचार प्रसार बिभाग संयोजक शिवहरि घिमिरेले बताउनुभयो ।
महासंघले माइलस्टोनको व्यवस्था खारेज गर्न प्रधानमन्त्री लगाएत सवै ठाँउमा आवाज पुराउदा पनि कुनै सम्बोधन नभएको भन्दै अव कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।