कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, वैठक लाइभ हुने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुने भएको छ । झन्डै एक वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसोे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गर्ने बताइएका छ । पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी थालिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको र सोही कार्यसूचीमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको छ । यसअघि असार २७ गते तय भएको बैठक विविध कारणले गर्दा आजलाई सारिएको थियो ।