शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाउन शिक्षामन्त्री प्रतिवद्ध
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाउन आफु प्रतिवद्ध रहेको बताउनुभएको छ ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले कानूनको रिक्तता रहनु आपत्तीजनक हुने भएकाले शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाउन आफु प्रतिवद्ध रहेको बताउनुभएको हो ।
उहाँले बिधयेकको परामर्श र प्रक्रियमा हुने ढिलाईलाई अन्त्य गर्न मन्त्रिपरिषद्मा समेत छलफल भएको जानकारी दिनुभयो । संघीय शिक्षा ऐन अव छिटै अघि बढ्ने जानकारी दिदै मन्त्री राईले ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको बताउनुभयो ।
उहाँले शिक्षकको दरवन्दी सिर्जना गरेर पूर्ति नगरेसम्म गुणस्तर शिक्षाको कुरा गर्नु सान्दर्भिक नहुने धारणा राख्नुभयो । शिक्षा क्षेत्रमा बजेट पर्याप्त विनियोजन हुन नसक्दा आवश्यकता अनुसारको कार्यक्रम तर्जुमा गर्न कठिन भइरहेको उहाँको भनाइ छ ।
बैठकमा समितिका सदस्यहरुले नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिएका थिए । समिति सदस्य चन्द्र भण्डारीले नेपालको पाठ्यक्रमले व्यवहारिक ज्ञान दिन नसकेको बताउनुभयो ।
त्यस्तै समिति सदस्य सुमना श्रेष्ठले देशका सवै स्थानको सामुदायिक शिक्षालाई नीजि भन्दा मागि उठाउने योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले देशभर अहिले ५३ हजार भन्दा शिक्षक अपुग देखिएको बताउनुभयो । उहाले उच्चशिक्षाका लागि विदेश जाने विद्यार्थी वृद्धि भएको अवस्थामा उच्चशिक्षाको क्यालेण्डर बनाएर नै स्वदेशी शिक्षामा आकर्षित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।