गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र भइरहेको छ, सचेत रहनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र व्यक्तिवाद हावी भएका कारण कम्युनिष्ट एकतालाई जोगाउन नसकिएको बताउनुभएको छ ।
समाजवाद अध्ययन केन्द्र नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष नेपालले मुलुकमा एमाले र माओवादी मिलेर नेकपा बन्नु इतिहासमा नै ठूलो उपलव्धी भएपनि पार्टीभित्र व्यक्तिवाद हावी भएका कारण त्यसलाई जोगाउन नसकिएको बताउनुभएको हो ।
उहाँले निर्वाचन अघि र पछि पनि कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्ने प्रयास गरिएपनि सफल हुन नसकेको धारणा राख्नुभयो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीभित्र रहेको व्यक्तिवादी रोगहरुको समयमा नै चिरफार गर्न नसके कम्युनिष्ट आन्दोलन कमजोर हुदै जाने उल्लेख गर्नुभयो ।
अव मुलुकको राजनीतिलाई जनतादेखि जनतासम्मको धारमा माड्नुपर्ने आवश्यकता रहेको उहाको भनाइ छ । अध्यक्ष नेपालले अहिले पनि कम्युनिष्टका शत्रु भनेको कांग्रेस हो भन्ने भ्रम सिर्जना गरेर गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कम्युनिष्ट भनिएकाहरुले पनि प्रतिगामीसंग हातेमालो गरिरहेको उल्लेख गर्दै अहिलेको सन्दर्भमा आफ्नो शक्ति बृद्धि गर्ने लक्ष्यमा अघि बढ्नुपर्ने बताउनुभयो ।