सुन प्रकरणलाई निष्कर्षमा पुराउन नसके सरकारको दिनगन्ती सुरु हुन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणलाई निष्कर्षमा पुराउन नसके वर्तमान सरकारको दिनगन्ती सुरु हुने बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा लामिछानेले भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणलाई निष्कर्षमा पुराउन नसकेको अवस्थामा सुन प्रकरणलाई निष्कर्षमा पुराउन नसके सरकार दिनगन्ती सुरु हुने बताउनुभएको हो । उहाँले भ्रष्टाचार नियन्त्रणमा सरकारले गरेको प्रयासलाई रास्वापाले गरेको समर्थन फाइदाका रुपमा नलिन समेत सुझाव दिनुभयो ।

लामिछानेले सुन तस्करी सेटिङमा भइरहेको आरोप लगाउँदै यस बिषयमा गृहमन्त्रीले सदनमा चितवुझ्दो जवाफ दिनुपर्ने माग गर्नुभयो । उहाँले सुन प्रकरणमा कर्मचारीहरुमाथि अनुसन्धान गर्नुपर्नेमा सरुवा मात्र गरेको भन्दै आपत्ती जनाउनुभयो ।