अधिवक्ता भगवती पाण्डेविरूद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । केही दिनदेखि विवादमा परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
एक टेलिभिजन कार्यक्रममा उनले दिएको अभिव्यक्तिले आफूहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै केही दिनअघि तामाङ, मगर समुदायका समूहले दिएको उजुरीका आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिएका छन् ।
जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको बताइएको छ ।
पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताएका छन् ।
यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।
त्यस्तै उनले प्राइभ टेलिभिजनकै जनता जान्न चाहन्छन् कार्यक्रममा आफूले फुपुचेला–मामाचेलाबीच विवाह हुन्छ भनेको बताएकी छिन् । उनले फुपुचेला–मामाचेला भन्ने शव्द छुट्दा त्यसलाई गलत अर्थ लगाएर आफूलाई विवादमा तान्ने प्रयास गरिएको उनले स्पष्ट पारेकी छिन् । आफूले सवै समुदायको सम्मान गर्ने बताउँदै अधिवक्ता पाण्डेले आफूलाई काट्ने, मार्ने, सामुहिक बलात्कार गर्ने लगायतका धम्की आउँदा रातभर निदाउन नसकेको दुःखेसो गरेकी छिन् ।