वीर अस्पतालको अवस्था सुधार भए देशभरको अस्पताल सुधार हुन्छ : मन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको अवस्था सुधार भए देशभरको अस्पताल सुधार हुने बताउनुभएको छ ।
वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको बताउनुभएको हो ।
उहाँले वीर अस्पताल सबै विरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको दावी गर्नुभो । ओपिडी सेवा विहान ८ बजेदेखि बनाएको, अनलाईनबाट पनि टिकट काट्ने व्यवस्था लागु गरेको, भिआईपी र भिभिआईपी कक्ष दुईवाट बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको काम आफुले मन्त्रालय आएपनि गरेको उहाले बताउनुभयो । उहाले वीर अस्पतालको इतिहासलाई समेत मध्यनजर गर्दै यसलाई राम्रो संग सञ्चालन गरेर नीति अस्पताललाई चूनौति दिनसक्नुपर्ने धारणा राख्नुभयो ।
१५ शैयाबाट सुरु भएको वीर अस्पतालमा अहिले ९६६ शैया सञ्चालन भएको छ । कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ठ कार्य सम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।