सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम–दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण गरिएको महाशाखाले जनाएको छ ।
अहिले नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) छ । साथै भारतको उत्तर पूर्वी उत्तरप्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार देशभर सामान्यदेखि पूर्ण बदली छ । सामान्य बदली भन्नाले ३६ देखि ५० प्रतिशत आकाश बादलले ढाकेको र पूर्ण बदली भन्नाले शतप्रतिशत आकाश ढाकिएको भन्ने बुझिन्छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र मधेश प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
सोमबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक–दुई स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।