बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया सुरु

काठमाडौं । राष्ट्र बैंकको टक्सार महाशाखाले विमानस्थल भन्सार क्षेत्रबाट बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया सुरु गरेको छ ।
सोमबार सञ्चारकर्मीको उपस्थीतिमा टक्सार महाशाखले ब्रेकसुबाट सुन निकाल्दै गाल्ने प्रक्रिया सुरु गरेको हो । ब्रेकसु कै आकारमा रहेको सुनको बाहिरपट्टी कालो रंग लगाइएको पाइएको छ । टक्सारका कर्मचारीले कालो रंग खुर्किदा सुन देखिएको थियो । ब्रेकसुबाट सुन निकालिसकेपछि मंगलबारसम्म सुन गाल्ने काम सम्पन्न हुने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।
सुन गालेर परिक्षण गरेपछि सुनको वास्तविक परिमाण यकिन हुने उनले बताए । सिआइवी, राजस्व र राष्ट्र बैंक केन्द्र र टक्सारका प्रतिनिधिको टोलीको उपस्थीतिमा पारदर्शी रुपले सुन गाल्ने, परिक्षण र जोख्ने काम हुने आचार्यले बताएका छन् ।
साउन ४ गते राजस्व अनुसन्धान विभागको टोलीले भन्सार कार्यालय बाहिरबाट सुन बरामद गरेको थियो ।