एमसिसी सम्झौताको कार्यान्वयन सुरु

काठमडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको मिलेनियम च्यालेन्ज सम्झौताको कार्यान्वयन सुरु भएको छ ।

बुधबार सिंहदरबारमा अर्थमन्त्री डा प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डबीच कार्यान्वयनसम्बन्धीपत्र आदान–प्रदान भएसंगै एमसिसी कार्यान्वयन सुरु गरिएको हो । यसअघि गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिको सञ्चालक समितिले भदौ १३ गतेलाई कार्यान्वयन मिति तोक्ने निर्णय गरेको थियो ।
एमसिसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम इआइएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ ।
एमसिसी कार्यान्वयन सुरु भएपछि अर्थमन्त्री डा. महतले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषित विद्युत प्रसारण आयोजना र नेपालको रणनैतिक सडक सञ्जालमा लगानी गर्ने सडक मर्मत आयोजनाको कार्यान्वयन घोषणा गर्न पाउदा खुसी लागेको बताउनुभयो । उहाले नेपालको आर्थिक बिकासलाई सघाउने एमसीसीका कार्यक्रमहरुले नेपाली जनता लाभान्वित हुने भन्दै तोकिएको समयभित्रै कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले नेपाल र एमसीसीबीचको साझेदारीका सन्दर्भमा यो उत्साहजनक क्षण भएको बताउनुभयो । नेपालको आर्थिक बृद्धिलाई अघि बढाउनका लागि नेपालसंग अन्य आवश्यक सहकार्य गर्ने उहाँको भनाइ छ ।
सम्झौता अन्तर्गतका आयोजनामा खर्च हुने गरी चालु आर्थिक वर्षका लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बराबरको बजेट विनियोजन गरिएको छ । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता भएको थियो । उक्त सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।