कोशी प्रदेशमा करिव १४ दिन रहेको बजेट होलीडेको समस्या अन्त्य

विराटनगर । कोशी प्रदेशमा करिव १४ दिन रहेको बजेट होलीडेको समस्या अन्त्य भएको छ । हिक्मतकुमार कार्की मुख्यमन्त्री भएपछि आइतबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गर्नुभएको हो ।
कोशीमा राजनीतिक खिचातानीका कारण भाद्र ११ गतेदेखि बजेट शुन्य जस्तै भएको थियो । हिक्मत कुमार कार्की नेतृत्वको सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले आर्थिक र विनियोजन अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिश समेत गरेको थियो । गत भाद्र १० गते सम्म तत्कालिन प्रदेश सरकारले प्रतिस्थापन विधेयक वा अध्यादेश जारी गर्न नसक्दा कोशी प्रदेशमा बजेट शुन्यताको अवस्था आएको थियो । अध्यादेश जारी भएपछि राजस्व संकलन र खर्च गर्न कानुनी रुपमा सहज भएको छ ।