स्थिर माहोललाई खल्बल्याउने योजनाबद्ध प्रायोजित अभिलाषाप्रति सतर्क रहन सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सैन्य संगठन आजको भोलि तयार गर्न सकिने विषय नभई लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिदै सवल र सुदृढ हुँदै जाने संगठित र अनुशासित समूह भएको बताएका छन् । उनले सुदृढ र सुसज्जित सेनाको निर्माण कार्य निरन्तरको प्रकृया भएकोले दिनानुदिन विकास हुँदै जाने नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीहरुले गर्दा यो कार्य सदैव चलिरहने कुरा बताएका छन् ।
प्रधान सेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पुरा भएको अवसरमा आज मिति २०८० भाद्र २४ गते नेपाली सेनालाई सम्बोधन गर्दै प्रधान सेनापतिले सो कुरा बताउनु भएका हुन ।
आफ्नो कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधान सेनापतिले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेका वीर स्मारकहरुमा माल्यार्पण गरेका छन् । उनले कर्तव्यपालनाको सिलसिलामा घाईते भएका सकलदर्जाको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारको क्रममा रहेका सबैलाई शीघ्र स्वास्थ्यलाभको कामनाका गरेका छन् । साथै उनीहरुको योगदानले नेपाली सेनाका सकलदर्जालाई संस्थागत हितमा केन्द्रित रहन सदैव प्रेरणा मिलोस् भन्‍ने कामना पनि गरेका छन् ।
प्रधानसेनापति शर्माले नेपालको एकीकरण अभियानको थालनीदेखि आजको दिनसम्म नेपाली सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाई राख्‍न अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको कुरा स्मरण गराउँदै सामुहिक प्रयासबाट नेपाली सेनाले आर्जन गरेको गरिमा र स्थापित गरेको जनविश्वासको लागि सकलदर्जा लगायत नेपाली सेनामा कार्यरत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यबाद व्यक्त गरेका छन


उनले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी असामयीक तर्क उठाई स्थिर माहोललाई खल्बल्याउने कुनैपनि स्वार्थ प्रेरित समूह तथा क्षणिक वा दुरगामी असर पार्नसक्ने योजनाबद्ध प्रायोजित अभिलाषाप्रति सदैव सजग र सतर्क रहँदै नेपाल र नेपाली जनताको वृहत्तर हितमा समर्पित रहन सकलदर्जालाई निर्देशन दिएका छन् ।
प्रधान सेनापतिले आजै जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच उपरथी दर्जामा पदोन्‍नति भएका सहायक रथी कुमार बाबु थापा र महासेनानी दर्जामा पदोन्‍नति भएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उनीहरु पदोन्‍नति सम्बन्धि विशेष व्यवस्था अनुरुप उनीहरु पदोन्‍नति भएका हुन ।
प्रधान सेनापतिले सकलदर्जालाई सम्बोधनको क्रममा रक्षा मन्त्रालयबाट सहज रुपमा साथ र सहयोग प्राप्त गरेको र आगामी दिनमा समेत उक्त साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका छन । त्यस्तै सम्बध्द राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन लगायत नेपाल सरकारका निकायहरु, नेपाली सेनासँग सहकार्य एवं सहयोग गर्ने सम्पूर्ण महानुभावहरु, संघसंस्थाका साथै सुखदुःखका हरेक क्षणमा सेनाप्रति भरोसा र विश्वास प्रकट गर्ने स्वदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई आभार प्रकट गरेका छन् ।


नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जा सहभागी विशेष कार्यक्रमको देशभर एवं विदेशमा तैनाथ नेपाली सेनाका सम्पूर्ण निकायहरुमा Live Multicast गरिएको थियो । सम्बोधनका दौरान प्रधान सेनापतिले कार्यकालको दोश्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समिक्षा गरेका छन् । साथै, उनले आगामी कार्यदिशाका बारेमा जानकारी गराएका छन् ।
त्यसै अवसरमा प्रधान सेनापतिले सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन कल्याणकारी दर्पण, नेपाली सेनाको व्यवस्थापनमा संचालित काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन KTFT JournalVol-III एवं नेपाली सेनाको वर्षभरिका प्रमुख गतिविधीहरुको तस्वीर समेटिएको PICTORIAL REFLECTION BOOK को विमोचन गरेका छन् ।