लेखा समितिले महालेखाको प्रतिवेदनमा उल्लेख बेरुजुबारे अध्ययन गर्ने
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखाको प्रतिवेदनमा उल्लेख बेरुजुबारे अध्ययन गर्ने भएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले महालेखाको ४४ देखि ६० औं प्रतिवेदनसम्म अध्ययन हुन नसकेको भन्दै बिभिन्न उपसमिति बनाएर अध्ययन गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।
२१ वटा मन्त्रालय र २० वटा संवैधनिक आयोगको बेरुजु अध्ययन गर्न समितिले बिभिन्न ९ वटा कलष्टर छुट्टाएर उपसमिति बनाएको छ । बेरुजु सम्परीक्षण उपसमितिले गम्भीर प्रकृति, सामान्य प्रकृति लगाएतका बेरुजु छुट्टाएर थप अध्ययन गर्ने सभापति पोखरेलले बताउनुभयो ।
हरेक बर्ष बेरुजु बढ्दै गएको अवस्थामा यसको कारणका बारेमा पनि अध्ययन गरिने समितिले जनाएको छ ।
समिति बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले अनाधिकृत रुपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्रिबितरण भइरहेको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
भट्टराईले सम्बन्धीत मन्त्रालय र आयल निगमसंग अनुमति नलिई केहि कम्पनीहरुले बढि तौलका खाना पकाउने ग्यास बिक्रिबितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको हो ।
खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढि तौलको ग्यास बिक्रि बितरणको बिषयमा सरोकारवाला निकायसंग समितिले छलफल गर्नुपर्ने उहाको भनाइ छ ।
बढि तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिन्ह नभएको र १४ दशमलव २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्दै उहाँले यसले ठूलो दुर्घटना निम्ताउन सक्ने धारणा राख्नुभयो ।
उहाँले ग्यासका कारण हुने दुर्घटनाको क्षतिपूर्ति पनि प्रभावकारी हुन नसकेको जिकिर गर्नुभयो ।