नेविसंघ महाधिवेशन तीन महिना म्याद थप, उमेरहदको विवाद कायमै
काठमाडौं – ३२ वर्षे उमेरहदले नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशन प्रभावित बन्न सक्ने खतरा देखिएको छ । निर्धारित कार्यकाल दुई वर्षमा १२औँ महाधिवेशन नभएपछि नेविसंघका पदाधिकारीले पार्टीलाई तीन महिनामा महाधिवेशन गर्न सकिने प्रतिबद्धता जनाएपछि मंसिरसम्म कार्यकाल थपिएको छ । तर, यो तीन महिनालाई ३२ वर्षे उमेरहदले जोखिममा पार्ने देखिएको हो ।
पदाधिकारीसहितमा निर्वाचित हुन ३२ वर्ष ननाघेको हुनुपर्ने नियम यसपटकदेखि लागू हुँदै छ । तर, यो नियम लागू हुँदा अहिलेका पदाधिकारीहरूले महाधिवेशनमा उठ्नै नपाउने भएकाले फेरि पनि महाधिवेशन नहुने हो कि भन्ने शंका उब्जिएको हो । ‘नेविसंघका वर्तमान पदाधिकारीहरूले नै तीन महिनाभित्र महाधिवेशन गर्न सक्छौँ भन्ने कार्ययोजना ल्याएपछि तीन महिना थप समय दिन पार्टी तयार भएको हो,’ नेविसंघको विवाद मिलाउन बनेको निर्देशक समितिका एक सदस्यले भने, ‘यो पटकटदेखि ३२ वर्षे उमेरहद लागू हुँदै छ । नयाँ नियमले अहिलेका पदाधिकारी उम्मेदवार हुन पाउँदैनन् । किनकि उनीहरू अधिकांश ३२ वर्षमाथिका छन् । आफू पदाधिकारी बन्न नपाउँदा अरूलाई नेता बन्ने बाटो खुलाउने गरी पदाधिकारीहरूले महाधिवेशन गर्न सक्रियता देखाउँदैनन् कि भन्ने आशंका पनि छ ।’
उमेरहद हटाउँदा संस्थापनलाई घाटा
पछिल्लो समय कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थामा संस्थापनलाई पौडेल र सिटौला पक्षले चुनौती मात्रै दिएको छैन, शिक्षक संघ, कानुन व्यवसायीको संस्था डिएलए, मजदुरहरूको संस्थामा नेतृत्व नै यिनीहरूले लिन सफल भएका छन् । यस्तोमा ३२ वर्ष उमेरहद हटाएर महाधिवेशन गर्दा आफूहरू कमजोर हुने बुझाइ संस्थापन पक्षको छ । यस्तो हुँदा ३२ वर्षे उमेरहद कुनै हालतमा नहटाउने पक्षमा संस्थापन छ । ‘पछिल्लो समय संस्थापन कमजोर बन्दै जाँदा ३२ वर्ष फुकाएर महाधिवेशन गर्दा नेतृत्व सिनियर नेताहरू नेविसंघको नेतृत्वमा आउँदा धेरै असर गर्ने बुझाइ उहाँहरूको छ,’ एक नेता भन्छन्, ‘यस्तोमा उमेरहद ३२ लागू गराउँने र महाधिवेशनमा ३२ वर्ष उमेर नपुगेकाहरू निर्वाचित हुँदा हारे पनि आफूहरूलाई धेरै असर नगर्ने बुझाइ संस्थापनको रहेको आजको नयाँ पत्रिकाले समाचार बनाएको छ ।