पशुपति जलहरी प्रकरण : तत्कालीन सदस्य सचिव ढकाल र हालका सदस्य सचिव थापाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सो सुन बापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने बताएपछि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ निकासा गरेको थियो । त्यसपछि कोषले नेपाल राष्ट्रबैंकसँग १०३ किलो ७७३.१ ग्राम सुन किनेको थियो ।
तत्कालिन सदस्य सचिव ढकाल र कोषाध्यक्ष तथा जलहरी निर्माण समितिका संयोजक थापाले सुनको संरक्षण गर्नुपर्नेमा नगरेको र जलहरी निर्माणमा आधिकारिक ज्ञान नभएको विज्ञलाई काम गर्न दिएको अख्तियारले जनाएको छ ।
राष्ट्र बैंकबाट किनेको १०३ किलो ७७३.१ ग्राम सुनमध्ये जलहरीमा प्रयोग भएको १०१ किलो ४८.५ ग्राम सुन घटाउँदा १ किलो ५६५.६ ग्राम सुन अपुगे भएको अख्तियारले जनाएको छ ।
राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार ०.०७२ प्रतिशतले हुन आउने सुन घटाउँदा बाँकी रहेको १ किलो ४९१.७१८ ग्राम सुन हिनामिना भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।