जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयासप्रति जनता सचेत हुनुपर्छ : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वको निहित स्वार्थमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताउनुभएको छ ।
बुधवार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्ने धारणा राख्नुभयो । उहाँले मुलुकमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशिल विषय भएको बताउनुभयो ।
अध्यक्ष ओलीले कुनै पनि धर्म प्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचे जस्तो सहज नहुने बताउनुभयो । अध्यक्ष ओलीले नेपाललाई हिन्दु राष्ट्र बनाउन संसदको दुई तिहाई मत चाहिने समेत स्पष्ट पार्नुभयो । उहाँले विद्वैष र विरोधबाट आएको परिणामले मुलुक र जनताको हित नगर्ने र असल परिणाम पनि नदिने बताउनुभयो ।
अध्यक्ष ओलीले मुलुकमा अराजकता र अस्थिरताका साथै महंगी र मुल्यवृद्धि हुदा समेत नेपाली कांग्रेस चुप लागेर बसेको भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गर्नुभयो ।
त्यस्तै अध्यक्ष ओलीले कोशी प्रदेशमा मध्यावधी निर्वाचन कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै यसका लागि राजनैतिक दलहरु संवेदनशिल हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले दलहरु मिल्नुको विकल्प नभएकाले मध्यावदी वाटो जान नहुने बताउदै यदि निर्वाचन भइहाले एमाललेले बहुमत ल्याउनेमा ढुक्क रहेको बताउनुभयो ।