प्रधानमन्त्रीको चीन भ्रमण मुलुकका लागि उपललव्धीमूलक भएन : सांसद पन्त
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा मुलुकको विकास निर्माणका लागि ठोस उपलब्धि नभएको बताउनुभएको छ ।
प्रतिनिधिसभा बिहीबारको बैठकको विशेष समयमा उहाँले बिआरआई परियोजनाबाट नेपालले विकास पूर्वाधारमा लाभ लिन सक्ने मौका गुमेको आरोप लगाउनुभयो । नेपालले दुई ठूला छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्ने उहाँको भनाइ थियो । सरकारले चीनसँग यसअघि भएका सहमति पनि कार्यान्वयन गर्न नसकेको सांसद पन्तले उल्लेख गर्नुभयो ।
त्यस्तै माओवादी सांसद माधव सापकोटाले जनप्रतिनिधिको सर्वाेच्च थलो सदनलाई राजनीतिको कुण्ठा अभिव्यक्त गर्ने थलो बनाउन नहुने बताउनुभयो । प्रमुख प्रतिपक्षी दलका नेताले विस्तृत शान्ति सम्झौताको मर्मविपरीत सदनमा भाषण गर्नुभएको टिप्पणी गर्दै उहाले राजनीतिक नेतृत्व अनुशासित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले धार्मिक र सामाजिक सद्भाव खलल गर्ने गरी कोही कसैले काम गर्न नहुने बताउनुभयो ।
त्यस्तै सांसद ज्ञानबहादुर शाहीले सामाजिक सद्भाव कायम राख्नका लागि सरकारसँगै सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले बजारमा उपभोग्य वस्तुमा महङ्गी भएको उल्लेख गर्दै मूल्यवृद्धि रोक्नका लागि सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद प्रदीप यादवले समाजमा अनेक थरी अफवाह फैलाउने काम भएको सन्दर्भमा धार्मिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक दल एकतावद्ध हुुनुपर्नेमा जोड दिनुभयो ।