सर्प पाल्ने नाममा झलनाथ खनाल प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार, सात जनाविरुद्ध मुद्दा
काठमाडौँ । सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै १८ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सात जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि अख्तियारले मधेश प्रदेशका तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्व मेयर मानबहादुर खड्कालगायतका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टि स्नेक भेनम उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासँग सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गरेको छ ।
सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपुरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो । तर आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुन विपरित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको अख्तियारलको ठहर छ ।
विशेष अदालत, काठमाडौंमा आइतबार दायर मुद्दामा उनीहरुबाट १७ करोड ९८ लाख ३३ हजार असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिजानाको माग समेत गरिएको छ । यादव तत्कालीन मन्त्री भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजाय समेत मागदाबी गरिएको छ ।