इजरायलमा समस्यामा रहेकाको उद्धार र मृत्यु भएका नेपालीहरूको शव ल्याउन विवरण संकलन सुरु
काठमाडौं । नेपाल सरकारले इजरायलमा समस्यामा परेकाहरूको उद्धार र मृत्यु भएका नेपालीहरूको शव ल्याउन पहल थालेको छ । त्यहाँस्थित दूतावासले एक विज्ञप्ति जारी गर्दै मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध गरिएको जनाएको छ ।
अहिले अनलाइनबाट विवरण संकलनको काम पनि भइरहेको छ । विज्ञप्तिमा भनिएको छ, ‘इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरूको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ ।’
शनिवार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको थियो । हमासको आक्रमणमा परी कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली कैलालीको बौनिया–३ का आशिष चौधरी, दार्चुलाको लेखम–५ का दीपेशराज विष्ट, सोही जिल्लाको मल्लिकार्जुन–४ का लोकेन्द्रसिंह धाँमीको मृत्यु भएको दूतावासले पुष्टि गरेको छ ।
त्यसैगरी धनुषाको सपही–६ का आनन्द साह, सुनसरीको मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटीको पाञ्चाली–३ का राजन फुलारा तथा सोही जिल्लाको लमिखाल–८ का पद्म थापा, सल्यानको शारदा–३ का प्रवेश भण्डारीको मृत्यु भएको छ ।
नेपाली दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका छ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपीन जोशी हराइरहेका छन् ।
इजरायली सेना र हमासबीचको भिडन्त जारी, दुवैतर्फ ११ सयभन्दा बढीको मृत्यु
इजरायल–प्यालेस्टिनी लडाकु समूह हमासबीचको भिडन्त जारी छ । इजरायली सेनाले गाजापट्टीस्थित हमास लडाकुका केन्द्रहरुमा आक्रमण तीव्र बनाएको छ ।
इजरायली सेनाको आक्रमणमा परी चार सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । २३ सयभन्दा बढी प्यालेस्टिनीहरु घाइते भएका छन् । हमाससँगको युद्ध लामो र कठिन हुनसक्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् ।
प्यालेस्टिनी लडाकु समूह हमासले पनि इजरायली भूमिमा छिरेर छापामार शैलीमा कारवाही जारी राखेको दावी गरेको छ । इजरायलको दक्षिणी क्षेत्र माभ्किममा सशक्त कार्वाही गरेको हमासको दाबी छ ।
हमासको कारवाहीमा इजरायलतर्फ ७ सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । सुपरनोभा संगीत महोत्सव क्षेत्रमा मात्र २ सय ५० भन्दा बढी शव भेटिएको उद्धारकर्ताहरुले बताएका छन् ।
लडाकुको आक्रमणमा परी २ हजारभन्दा बढी इजरायली घाइते भएका छन् । सयौंको संख्यामा इजरायलतर्फका व्यक्तिहरुलाई बन्दी बनाएको बीबीसीले जनाएको छ ।
यसैबीच, अमेरिकाले पूर्वी भू–मध्यसागरमा विमान वाहक, जहाज र जेटहरू लैजादै गरेको जनाएको छ । इजरायललाई थप सैन्य सामग्री दिने उद्देश्यले ती उपकरण लैजान लागेको अमेरिकी अधिकारीहरुले उल्लेख गरेका छन् ।
भिडन्तमा आफ्ना नागरिक परे–नपरेको सम्बन्धमा अध्ययन गरिरहेको पनि अमेरिकी अधिकारीहरुको भनाइ छ ।
प्यालेस्टिनी लडाकु समूह हमासले इजरायल विरुद्ध हजारौंको संख्यामा रकेट प्रहार गरेपछि दुवै देश युद्धको अवस्थामा पुगेका हुन् ।
लडाकु समूहले एकै पटक विभिन्न ठाउँबाट जल, थल र हवाइ हमला गरेको हो । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देश युद्धमा होमिएको घोषणा गरेका छन् ।