आजबाट रास्वपाको दुई दिने ‘नीति मन्थन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागि सुझाव लिन आजदेखि दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ ।
प्रदर्शनीमार्गस्थित पर्यटनबोर्डको हलमा हने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ । फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।
पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका लागि सात विषय छुट्याइएको छ । आज पहिलो सत्रमा शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र बारे छलफल हुने छ ।
त्यस्तै दोस्रो सत्रमा शिक्षा, नयाँ प्रविधि र युवा विषय रहने सो पार्टीले जनाएको छ । डा. नीति अर्याल, डा. सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देललाई विषय विज्ञका रुपमा आमन्त्रण गरिएको ढकालले बताएका छन् ।
आज पहिलो दिनको तेस्रो सत्रका लागि ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ विषय राखिएको छ । जसका लागि डा. सङ्गीता सिंह, डा. अरविन्दकुमार मिश्र, डा. वसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधर विषय विज्ञका रुपमा बोलाइएका छन् ।