यमबहादुर अधिकारी सेनापति बन्ने सम्भावना छैन : रक्षामन्त्री खड्का
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले यमबहादुर अधिकारीलाई प्रधानसेनापति बनाउने र बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
माओवादी लडाकु समायोजनबाट सेनामा आएका अधिकारी अतिरिक्त सहायक रथी छन् । २०७६ मा अतिरिक्त सहायक रथी बनेका उनको चार वर्ष कार्यकाल सकिएको थियो । असोज १ गते अकाश हुनेपर्ने उनलाई हालै मात्र सरकारले ३ वर्ष म्याद थपेर अवकाश जानबाट रोकेको थियो ।
पटकपटक म्याद थप्नुले अधिकारीलाई प्रधानसेनापति बनाउन खोजेको त होइन भन्ने आशंका उब्जिएको छ । सेनाका पूर्व अधिकृतहरुले समेत वक्तव्य निकालेर विरोध जनाएका छन् भने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सेनामा राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
रक्षामन्त्री खड्काले भने अतिरिक्त सहायक रथीको पदावधि ७ वर्ष हुने बताउँदै उमेर अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक ऐनमै रहेको बताएका छन् । सेनाको बोर्डले सम्वन्धित अधिकृतको मूल्यांकन गरेर बढुवाका लागि सिफारिस गर्ने र त्यो प्रधानसेनामार्फत रक्षा मन्त्रालयमा आएपछि मन्त्रिपरिषदले निर्णय गर्ने प्रक्रिया अनुसार नै अधिकारीको पदावधि थप भएको भन्दै रक्षामन्त्री खड्काले बताएका छन् । आज आयोजित एक कार्यक्रममा रक्षामन्त्री खड्काले भने, ‘सेनाको नियमावलीमा चलाएर अधिकारीलाई प्रधानसेनापति बनाइँदैछ भने सबै मित्थ्या कुरा हुन् ।’
सेनापति हुन निश्चित तालिमहरु प्राप्त गरेको हुनुपर्ने लगायतका निश्चित मापदण्डभन्दा दायाँ–वायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, आफू जाने कल्पना गर्न नसकिने बताउँदै रक्षामन्त्री खड्काले यमबहादुर अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको सबै कुरा गलत भएको बताएका छन् ।
अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् । अधिकारीको पदावधि थप्ने सरकारको निर्णय विवादित बनेपछि नेपाली सेनाले उनलाई जिम्मेवारीविहीन बनाएको स्रोतको दावी छ ।