पीडित पक्षको अधिकारको रक्षा गर्दै शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन महासचिव गुटेरेसको सुझाव

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा गौरव व्यक्त रहेको बताउनुभएको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्र संघले गौरव व्यक्त गरेको भन्दै नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्र संघका तर्फबाट सम्मान व्यक्त गर्नुभयो ।

नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु¥याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै उहाँले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पु¥याउन सुझाव दिनुभयो । गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको जिकिर गर्नुभयो । उहाले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्वन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्ने उहाको भनाइ छ । गुटेरेसले नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको भन्दै शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा मौनधारणा समेत गर्नुभयो । महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताउनुभयो ।

महासचिव गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसंघले भूमिका खेल्ने धारणा राख्नुभयो । संयुक्त राष्ट्रसंघ र नेपालबीच रहेको लामो समयदेखिको सम्बन्ध थप प्रगाढका साथ अघि बढ्ने उहाले बताउनुभयो ।
उहाँलाई संसद भवनमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायतले स्वागत गर्नुभएको थियो । यही कात्तिक १२ गते चार दिने नेपाल भ्रमणमा आउनुभएका महासचिव गुटेरेस बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।