कालिकोटे प्रकाण्डको काभ्रे चौकीमा बास

घर उनको कालिकोट । जीउमा छ सेतो कोट । राजनीति गर्दागर्दैै लाग्यो अपराधको खोट ।

काठमाडौं \ घर उनको कालिकोट । जीउमा छ सेतो कोट । राजनीति गर्दागर्दैै लाग्यो अपराधको खोट । जीवनमा यस्तो व्यहोर्ने व्यक्ति हुन् – पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्ड । साउन २२ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका प्रकाण्डको बास अहिले काभ्रेमा छ । कार्यकर्ता वा कसैको निवासमा होइन, प्रहरी चौकीमा । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बनिसकेका उनलाई संगठित अपराधमा संलग्न रहेको आरोप लागेको छ । अनुसन्धानका लागि तीन दिन म्याद थप भएको छ ।
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई काभ्रेमा भएको अपराधिक घटनाको आरोपमा काठमाडौंबाट पक्रेर त्यही लगिएको हो । कुनैबेला अहिलेका गृहमन्त्री रामबहादुर थापाको घनिष्ठ मित्र रहेका प्रकाण्डलाई सर्वोच्च अदालतले शुक्रबार छोड्ने आदेश दिएको थियो ।
अदालतको आदेशपछि राष्ट्रिय मानव अधिकार आयोगको गाडीमा बसेका प्रकाण्डलाई प्रहरीले त्यही गाडीबाटै पुनः पक्राउ गरेको हो । कालिकोट नरहरीनाथ गाउँपालिका–६ का प्रकाण्डलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि एनसेल टावरमा आक्रमण गरेको र नमोबुद्ध नगरपालिका–६ स्थित ब्लु साईन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको लगायतका आरोप छन् । त्यही घटनामा उनकै पार्टीका केन्द्रीय सदस्यद्वय वीरेन्द्रनगर नगरपालिका–२० का कृष्ण धमला(गम्भीर) र धादिङ जिल्ला निलकण्ठ नगरपालिका–३ का मोहन कार्की(जीवन्त) लाई पक्राउ गरिएको छ । उनीहरुलाई पनि प्रकाण्डसँगै काभ्रे चौकीमा राखिएको छ ।