एमडीएमएस आजदेखि लागू, दर्ता नभएका मोबाइल सेट नचल्ने
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस प्रणाली लागू गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रणालीमा दर्ता नभएका फोनहरु क्रमश: ब्लक हुने बताएका छन् । यो प्रणाली लागू भएसंगै अवैध र गैरकानुनी रुपमा भित्र्याइएका मोबाइल सेटमा कुनै पनि सिमकार्ड चल्ने छैनन् ।
प्राधिकरणले गत कात्तिक ४ गते सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरुलाई एमडीएमएसमा दर्ता नभएका मोबाइल दर्ता गर्न आग्रह गरेको थियो । सुरुमा हाइ रेन्जका एक लाख भन्दा महंगा मोबाइल ह्याण्डसेटमा प्रणाली लागू हुने अध्यक्ष खनालले बताएका छन् ।
आजदेखि क्रमिक रूपमा प्रत्येक दिन आठ सयदेखि एक हजारवटा सेट ब्लक गरिने खनालले बताएका छन् । । पहिलो चरणमा प्राधिकरणले हाइप्रोफाइललाई लक्षित गरेर मोवाइल ब्लक गर्न लागिएको जनाएको छ ।
प्राधिकरणले आफ्नो माेवाइल फोन याे प्रणालीमा दर्ता भएको छ वा छैन हेर्न सकिने जनाएकाे छ। एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर माेवाइल फाेन दर्ता भए नभएकाे हेर्न सकिन्छ। यसका लागि आवश्यक मोबाइलको आईएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ ।
ह्यानडसेट नयाँ छ भने त्यसको आईएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकिएको जनाएको छ । तर त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएका प्राधिकरणका अध्यक्ष खनालले बताए ।