युवा मस्तिष्कलाई दुव्र्यसनमा फसाउनेलाई माफी दिन नहुने

काठमाडौं । मुलुक समृद्धिको मार्गतर्फ अगाडि बढिरहेका बेला लागूऔषध बाधक हुने भन्दै सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा सबैले आ–आफ्नो ठाउँबाट लागूऔषध नियन्त्रणमा सहयोग गर्नुपर्ने गृहमन्त्रालयका एक अधिकारीले बताएका छन् ।
देशमा लागूऔषधका दुव्र्यसनीहरु बढ्दै गएकोप्रति ध्यानाकर्षण गर्दै आमसञ्चार केन्द्र नेपालले बिहीबार राजधानीमा आयोजना गरेको ‘लागूऔषध विरुद्धको सचेतना र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गृह मन्त्रालयका लागूऔषध नियन्त्रण महाशाखा प्रमुख एवं सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले सो कुरा बताएका हुन् ।
देशका युवा मस्तिष्कहरुलाई दुव्र्यसनमा फसाउने लागूऔषध कारोबारीहरुलाई समाजले माफी दिन नहुने बताउँदै सहसचिव दुवाडीले समाजमा जटिल बन्दै गएको लागूऔषध दुव्र्यसन नियन्त्रण गर्न सबैले हातेमालो गरेर अगाडि बढ्न जरुरी भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहसचिव दुवाडीले सभ्य समाज निर्माणका लागि सकारात्मक सोचका साथ सचेतनाका लागि सञ्चारकर्मीहरुलाई जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न आग्रह पनि गरे ।

प्रेस काउन्सिल नेपालका सदस्य तथा केन्द्रका अध्यक्ष गोविन्दप्रसाद चौलागाई

कार्यक्रममा लागूऔषध व्यूरो प्रमुख तथा प्रहरी डिआइजी ठुले राईले लागूऔषधका दुव्र्यसनीका कारण समाजमा अपराध बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि विद्यालय तहदेखि नै सबै तहबाट सहयोग नभए यसले विकराल अवस्था सिर्जना हुने बताए । लागूऔषध गाँजा, चरेश, भाङ्ग, धतुरोको दुव्र्यसनी भन्दा कन्ट्रोल मेडिसन (ज्याभा, आइस)जस्ता विदेशबाट भित्रिने लागूऔषधहरु अनि लागूऔषधका दुव्र्यसनी बढिरहेको जानकारी गराउँदै यस्ता दुव्र्यसन रोक्न लागूऔषध व्यूरो सक्रिय रहेको बताए ।
त्यसैगरी कार्यक्रममा लागूऔषध दुव्र्यसनी विरुद्धको सचेतनामा क्रियाशिल छाता संगठन (एफडिडिआर)का अध्यक्ष प्रशान्त शर्माले आफूहरु लागूऔषधको सचेतनामा देशको विभिन्न भागमा क्रियाशील रहेको बताउँदै यसको रोकथाममा सबै पक्षको सहयोगको आवश्यकता रहेको बताए ।
कार्यक्रममा नार्कोनोनका डाइरेक्टर पुजा कुँवरले दुव्र्यसनीहरुलाई पुनस्र्थापना केन्द्रमार्फत समाजमा सभ्य नागरिक बनाउने अभियानमा आफूहरु जुटिरहेको बताइन् । उनले आफूहरुले देशव्यापी रुपमा लागूऔषध नियन्त्रणका लागि अभियान चलाउँदा स्कुल कलेजहरुले खासै सहयोगी भूमिका नदेखाएकोमा दुःख व्यक्त गरिन् । कार्यक्रममा बोल्दै उनले अहिले ६ कक्षादेखि लागूऔषधमा फस्ने हुँदा अभिभावक र स्कुल परिवारले ध्यान दिनुपर्ने सुझाव दिइन् ।
कार्यक्रममा एनप्याब्सनका अध्यक्ष रितुराज सापकोटा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष दिपिका थापा, एनप्याब्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाही, हिसानका सचिव रामहरि सिलवाल, वरिष्ठ पत्रकार विष्णु प्रसाईलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्रेस काउन्सिल नेपालका सदस्य तथा केन्द्रका अध्यक्ष गोविन्दप्रसाद चौलागाईले जनसरोकारको विषयमा सञ्चार केन्द्रले कार्यक्रम गर्दै आएको बताए । लाखौं युवा दुव्र्यसनीमा फस्दै गएको प्रसङ्गले आफूहरुको ध्यान केन्द्रित भएकोले सो विषयमा कार्यक्रम गर्नुपरेको बताए ।
कार्यक्रममा पत्रकार सागर पण्डितले कार्यपत्र प्रस्तुत गरेका थिए भने प्याब्सन केन्द्रीय सचिवालयका पूर्व सदस्य शम्भु पोखरेललगायत दर्जनौं सञ्चारकर्मीहरुले अन्तरक्रियामा भाग लिएका थिए ।