भूकम्प पीडितलाई राहत वितरणमा ढिलासुस्त खनालको असन्तुष्टि

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत वितरणमा ढिलासुस्ती भइरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जाजरकोट केन्द्रविन्दु भएर भुकम्प गएको एक साता वित्न लाग्दा समेत पीडितहरूले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभएको हो ।

नेता खनालले सरकारले एकद्वारा प्रणालीबाट उद्धार तथा राहत वितरण गर्ने भनेपनि राहत वितरणमा ढिलासुस्ती भइरहेको भन्दै असन्तुष्टि जनाउनुभयो । महिला, वृद्धवृद्धा र बालबालिकाले राहत नपाएको र सुत्केरी महिलाले त्रिपालसम्म नपाएको गुनसो आइरहेको भन्दै सरकार गम्भीर बन्नुपर्ने उल्लेख गर्नुभयो । नेता खनालले आपतकालिन विषयमा सरकारले गरिरहेको ढिलाइ अत्यन्त आपत्तिजनक रहेको बताउनुभयो ।

उहाँले नेपाल भूकम्पको जोखिममा रहेको भन्दै सरकारले आवश्यक पूर्वयोजनाका कार्यक्रम अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।