किन ‘रोजी’ बन्यो ‘रोज’ ?

काठमाडौँ । भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोजी’ को नाम परिवर्तन भएको छ । रोजी हत्याकाण्डमा आधारित रहेर चलचित्र निर्माण भएको समाचार सार्वजनिक भएसँगै रोजीका परिवारले यस्तो चलचित्र निर्माण नगर्न चेतावनी दिएका थिए । गोविन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग सिनेमा ‘रोजी’ को कथा र परिवेश मिलेको भन्दै सो नाम नराख्न दबाव दिएपछि चलचित्र रोजीको छायांकन पनि केही समय रोकिएको थियो । रोजीका परिवारको चर्को दबाव पछि रोजी चलचित्रको निर्माण पक्षले नाम परिवर्तन गरेर ‘रोज’ बनाएको छ ।
बिहीबार चलचित्र विकास बोर्डमा भएको बैठकमा निर्माण टिम ‘रोजी’ नाम हटाउन तयार भएको हो । दुई पक्षीय वार्तामा अब निर्माण पक्षले फिल्मको नाम ‘रोजी’ नराख्ने, सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको बताइएको छ । यस्तै महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो फिल्मलाई कुनै पनि प्रकारको बाधा नपु¥याउने सम्झौता भएको छ ।
गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो फिल्ममा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
२०६८ सालमा ललितपुरकी रोजी महर्जनलाई उनकै प्रेमी सुवास उप्रेतीको योजनामा राजु लोहारले गोली हानी हत्या गरेका थिए ।