कोशी प्रदेश मन्त्री कार्यविभाजन
काठमाडौं । कोशी प्रदेश सरकार गठन भएको करिब डेढ महिना पछि प्रदेशका मन्त्रीहरुको कार्य विभाजन गरिएको छ ।
कोशी प्रदेशमा गत असोज २८ गते नेपाली कांग्रेसका केदार कार्की नेतृत्वमा गठन भएको मन्त्रीपरिषद्का शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा लगाइएको छ ।
यसैगरी कात्तिक १७ गते मन्त्रीमा नियुक्त भएका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र कमल प्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठका अनुसार मुख्यमन्त्री केदार कार्कीको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले मन्त्रीहरुको कार्यविभाजन गरेका हुन ।
एमालेको ३९ जना प्रदेश सांसदहरुको समर्थनमा ७ जना विद्रोही कांग्रेसका सदस्यहरु सहित केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशमा सरकार गठन गरेका छन् ।
असोज २८ गते गठन भएको ३ सदस्यीय मन्त्रीपरिषदका राम बहादुर रानाले राजिनामा दिएपछि कोशी प्रदेशमा ४ सदस्यीय मन्त्रीपरिषद रहेको छ ।