धर्म चलाए गणतन्त्र र संघीयता टिक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धर्म निरपेक्षताका विषयमा संविधानमा लेखिएको विषयमा नचलाइलिने बताएका छन् ।

सोमबार सिंहदरबारमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले ‘हिन्दूराष्ट्र’ बनाउनुपर्छ भन्ने विदेशीहरूलाई हाम्रो देशको बारेमा चिन्ता नलिन समेत आग्रह गरेको बताएका छन् ।

‘धेरै छलफल गरेर सनातनदेखि चलिआएको धर्म संस्कृति संरक्षण गर्ने र निरपेक्ष रहने कुरा लेख्यौँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पनि एकमतले धर्म र संविधानको विषयमा केही नचलाउने निर्णय गरेको बताए । ‘कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पनि एकमतले संविधान र धर्मको बारेमा नचलाउने निर्णय गरिसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

उनले धर्म चलाउँदा गणतन्त्र चल्ने र गणतन्त्र चलाउँदा संघीयता चल्ने भन्दै त्यसपछिको अवस्था बिग्रने पनि बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले जनतामा पुग्न ढिला भएको र भ्याकुम सिर्जना भएको बताएका छन् ।

‘परिवर्तनका वाहक जनतामा जान ढिलो भयो र भ्याकुम सिर्जना भयो,’ उनले भने, ‘संयुक्त जनपरिचालन भए संविधान र परिवर्तन जोगिन्छ ।’
त्यस्तै उनले टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयप्रति पुनर्विचार हुन सक्ने बताउँदै अन्य सामाजिक सञ्जाल अहिले केही नहुने बताएका छन् ।
उनले सामाजिक सञ्जाल नियमनका लागि विधेयक ल्याउने तयारीमा रहेको पनि बताएका छन् ।

टिकटकबारे हरेकजसो राजनीतिक दलका बैठकमा कुरा हुने गरेको र सबैभन्दा बढी प्रतिपक्षी दलबाट कुरा आउने गरेको पनि सुनाएका छन् ।

‘कांग्रेस सभापति पनि कहिले बन्द गर्ने भनेर हरेक दिन सोध्ने मलाई पनि केही गर्नुपर्छ भन्ने त लागिरहेकै थियो परिवार समाज सबैतिर हैरान देखिन्थ्यो सबै खुसी नै देख्छु एउटा तरंग आएको छ। बन्द गरिहाल्नुपर्ने थियो र गरियो,’ प्रधानमन्त्री प्रचण्डले भने।