खर्च प्रगतिमा धुर्कोट पहिलो, मुसिकोट दोश्रो
गुल्मी । दोश्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना यस जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरु मध्येको आर्थिक प्रगति सारांशमा धुर्कोट गाउँपालिका पहिलो नम्वरमा रहेको छ भने दोश्रो नम्वरमा मुसिकोट नगरपालिका परेको छ ।
जिल्लाका पाँच वटा गाउँपालिका र मुसिकोट नगरपालिकामा उक्त परियोजनाले खानेपानी योजना र सरसफाई कार्यक्रम गर्दै आएकोमा धुर्कोट गाउँपालिका आर्थिक प्रगतिमा सबै भन्दा अगाडी देखिएको त्यस कार्यक्रमका फोकल पर्शन हरि घिमिरेले जानकारी दिए ।
हामीलाई प्राप्त सुचाङ्क अनुसार तेश्रो नम्वरमा ईस्मा गाउँपालिका परेको छ । चौथो नम्वरमा कालिगण्डकी, पाँचौमा छत्रकोट र छैठौं नम्वरमा मदाने गाउँपालिका परेको छ । ति सवै स्थानिय तहमा करोडौंका खानेपानी योजना र सरसफाई कार्यक्रम तिव्र रुपमा अगाडी बढाईएको छ ।
परियोजनाले धुर्कोट गाउँपालिका वडा नम्वर–७ वाग्लामा माछेब्याड लिफ्ट खानेपानी योजना गत असार मसान्त भित्रै सम्पन्न गरेको छ । जसबाट १ सय २४ घरधुरीका ६ सय ३४ जना लाभान्वित भएका छन् । एक घर एक धारा कार्यक्रम अन्तर्गत सवै घरहरुमा धारा पुगेको छ ।
वडा नम्वर ३ को हाडहाडेमा घोस वर्दवास खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको त्यस परियोजना वास संयोजक छविलाल बिश्वकर्माले जानकारी दिए । उनका अनुसार जसबाट १ सय ३३ घरधुरीका ७ सय ८९ जना लाभान्वित हुने छन् ।
धुर्कोट गाउँपालिका भित्रका ७ सय ९८ घरधुरीमा पुर्ण सरसफाई सुचाङ्कमा परी हरियो स्टिकर टाँस्ने कार्य पनि सम्पन्न भएको छ । त्यहाँका तिन वटा विद्यालय पञ्चायन मावि, वाग्ला मावि र निन्युखर्क माविमा भित्ते लेखन कार्य पनि सम्पन्न भएको छ । सय थान पुर्ण सरसफाईका सुचक पोष्टर वितरण पनि गरिएको छ । परियोजनाले गाउँपालिका भित्र अपाङ्ग र महिलामैत्री शौचालय समेत गत आर्थिक वर्षमा सम्पन्न गरेको छ ।
परियोजनाका लागि गत वर्ष नेपाल सरकारबाट ५२ लाख २२ हजार, फिन्ल्याण्ड सरकारबाट २५ लाख ९३ हजार, धुर्कोट गाउँपालिकाबाट ३० लाख ८५ हजार ६ सय ४४, उपभोक्ताद्धारा नगद २ लाख ८२ हजार ५ सय १९ र जनश्रमदान ४० लाख ३ हजार ७९ सहित कुल १ करोड ४५ लाख २३ हजार ७ सय ८१ गत बर्ष छुट्टाईएको त्यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले जानकारी थिए ।
उनले यस चालु आर्थिक वर्षमा पनि खानेपानी र सरसफाईका लागि त्यो भन्दा बढि रकम विनियोजन गरिएको बताए । उपप्रमुख शिवहादुर खत्रीले दौंघा पछि धुर्कोट सदियौंदेखि खानेपानीको अभावमा रहेकोले प्रमुख समस्या खानेपानी हल गर्न लागिएको बताए । गाउँपालिका प्रमुख भुपाल पोखरेलले पाँच वर्ष भित्रमा एक घर एक धारा आफुहरुको चुनावी प्रतिवद्धता पुरा गरिने बताए ।